२०८२ बैशाख १६ गते , मंगलबार

नागरिकताका लागि वर्षौँदेखि भौँतारिँदै दमककी विमला दर्जी : वडाध्यक्षले जन्मेको प्रमाणित गरिदिए, जन्मदर्ता दिएनन्

sajilo news
पार्थ मण्डल
२०७८ माघ ४ गते , मंगलबार
नागरिकताका लागि वर्षौँदेखि भौँतारिँदै दमककी विमला दर्जी : वडाध्यक्षले जन्मेको प्रमाणित गरिदिए, जन्मदर्ता दिएनन्

झापा । झापाको दमक–१ स्थित सुकुमबासी टोलमा बसोवास गर्दै आएकी विमला दर्जी ९३३० देशको नागरिक बन्न भौँतारिएको वर्षौँ भयो । तर, गरिबी र राज्यमा पहुँच नभएकै कारण उनी अनागरिक छिन् । विमला नागरिता पाउनबाट वञ्चित हुँदा त्यसको असर उनका सन्तानमा परेको छ । 

मोरङ बेलबारी–१० मा जन्मिएकी विमलाका बुबा सानैमा बिते । आमा बोल्न नसक्ने थिइन् । जसका कारण विमलाले पढ्न पाइनन् । अशिक्षाका कारण उनले जन्मदर्ता लिइनन् । सानै उमेरमा विवाह गरेर दमक आइन् । आमाको मृत्यु भइसक्यो । अहिले उनको हातमा जन्मदर्ता छैन । जसका कारण उनले नागरिकता बनाउन पाएकी छैनन् । नागरिकता नपाउँदा विपन्न दलित विमला राज्यबाट पाउने सुविधाबाट त वञ्चित भएकी नै छन्, उनका छोराछोरीले विद्यालय पढ्नसमेत पाएका छैनन् । छोराछोरीको जन्मदर्तासमेत भएको छैन । ‘नागरिकता नहुँदा धेरै समस्या हुनेरहेछ । दुई छोरा र एक छोरी छन् । उनीहरूको पनि जन्मदर्ता छैन,’ उनी भन्छिन्, ‘जन्मदर्ता नहुँदा जेठी छोरीले पढ्न पनि पाइन, छोराछोरी साना कक्षामा छन् । भोलिपर्सि ल्याउँछु भन्दै अझै त पढ्दै छन् । ठूलो कक्षामा गएपछि त उनीहरूले पनि पढ्न नपाउने त होलान् नि !’ 

नागरिकताका लागि भौँतारिएको वर्षौँ भयो । जन्मदर्ता विनानागरिकता बनिँदैन भनेर उनलाई जिल्ला प्रशासन कार्यालयबाट धेरैपटक फर्काइयो । धेरैपटक उनी जन्मिएको ठाउँ पुगिन् । तर, जन्मदर्ता बनाउन सकिनन् । ‘कतिपटक धाएँधाएँ । तर, वडाले पनि जन्मदर्ता बनाउन सक्दिन भन्छ,’ विमला भन्छिन्, ‘बुबा सानैमा बित्नुभयो । आमा बोल्न सक्नुहुँदैन थियो । फुपूकोमा बसेकी हुँ । त्यो वेला जन्मदर्ता बनाइएन । अहिले नागरिकता पनि पाइनँ ।’

पटक–पटक बेलबारी–१० को वडा कार्यालय धाएपछि वडाले उनी जन्मिएको प्रमाणित गरिदियो । तर, जन्मदर्ता भने दिएन । वडाले गाउँमा सर्जिमिन गरेर उनी ६ असोज ०५५ सालमा त्यहीँ जन्मिएको र उनका बाबु बुद्धिमान दर्जी भएको वडाध्यक्ष गंगाबहादुर याखाले प्रमाणित गरिदिएका छन् । दर्जीको परिवार बसाइँ सरी अस्थायी रूपमा बसोवास गर्ने क्रममा साबिकको डाँगीहाट–४ (हालको बेलबारी–१०)मा विमला जन्मिएको प्रमाणितपत्रमा उल्लेख छ । उक्त प्रमाणपत्रमा अशिक्षा र अज्ञानताले हालसम्म जन्मदर्ता नबनाएको र विमलाको बुबा बुद्धिमान पनि नागरिकता नबनाई हराएको उल्लेख गरिएको छ । 

यद्यपि, विमला बेलबारी–१० मै जन्मिएको प्रमाणित गर्ने वडाध्यक्ष याखाले जन्मदर्ता नदिँदा उनी अनागरिक भएर जीवन चलाइरहेकी छिन् । गाउँमा सर्जिमिन गरेर जन्मेको प्रमाणित गर्ने वडाध्यक्ष याखाले भने उनी जन्मिएको केही आधार नभएकाले जन्मदर्ता दिन नसकिएको बताए । ‘जन्मिएको प्रमाणि हुने केही कागज छैन । बुबाआमा पनि छैनन् । यहाँ आइरहेपछि मेरो अधिकारमा भएको जन्मिएको प्रमाणित गरिदिएको हुँ,’ उनले भने, ‘नागरिकता र जन्मदर्ता लिने भए त जन्मेको ठाउँमा गएर बनाउनुपर्छ हामी सक्दैनौँ ।’ नयाँ पत्रिकाबाट

सम्बन्धित समाचार