२०८२ बैशाख ९ गते , मंगलबार

माफियाहरूसँगको मिलेमतोमा सुपारी आयातको गृहकार्य ‘नेपाली किसानमारा नीति’

sajilo news
पार्थ मण्डल
२०७८ पौष २९ गते , विहीबार
माफियाहरूसँगको मिलेमतोमा सुपारी आयातको गृहकार्य  ‘नेपाली किसानमारा नीति’

झापा । तेस्रो मुलुकबाट आयात भई अवैध बाटोबाट भारत निकासी हुने सुपारी आयातका कारण स्थानीय उत्पादन भने धराशायी बन्दै आएको किसानले गुनासो गरेका छन् । आयात खुला गर्ने सरकारको निर्णयले वास्तविक सुपारी किसान समस्यामा पर्ने उनीहरूको भनाइ छ ।

नमुना झापा सुपारी बाली विकास संस्था बिर्तामोडले विज्ञप्ति जारी गरेर तेस्रो मुलुकबाट सुपारी आयातको इजाजत दिएर सरकारले किसानमाथि गम्भीर अपराध गरेको आरोप लगाएको छ । ‘किसानमारा आयात अनुमति तत्काल खारेज गर्न अनुरोध छ,’ अध्यक्ष राजकुमार राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विदेशी सुपारीका कारण किसानका सुपारी बजार अभावले घरघरमै थन्किएको किसानहरूको भनाइ छ । माफियाहरूसँगको मिलेमतोमा सरकारले पुनः आयात गर्न दिनु किसानको हितविपरीत भएको सुपारी बाली विकास संस्थाका अध्यक्ष राईले जनाएका छन् ।

सिंगापुर, इन्डोनेसिया र मलेसिया जस्ता मुलुकबाट आयात हुने सुपारी स्थानीय उत्पादनको लेबल लगाएर लामो समयदेखि भारत तस्करी हुँदै आएको छ । सुपारी खेतीको विकास गर्ने नाममा खुलेका दर्जनभन्दा बढी संस्थाले समेत स्थानीय उत्पादन नकिन्दा भारतबाट साइकल चढेर आउने साना व्यापारीलाई सस्तो र उधारोमा बिक्री गर्न किसान बाध्य छन् ।

बाहुनडाँगी, शान्तिनगर, बुधबारे, शनिश्चरे, अर्जुनधारा, खुदुनाबारीलगायतका झापाका उत्तरी क्षेत्र सुपारी खेतीका लागि प्रख्यात मानिन्छन् । वार्षिक करिब १० हजार टन सुपारी आन्तरिक खपत हुन्छ । जबकि झापा, मोरङ र इलामका केही स्थानसहित स्वदेशमै १२ हजार टन सुपारी उत्पादन भइरहेको छ । नेपालमा उत्पादन हुने काँचो सुपारी कुल उत्पादनको करिब २० प्रतिशत मात्रै नेपालमा खपत हुने र बाँकी ८० प्रतिशत भारत निकासी हुँदै आएको थियो ।

२०५० को दशकदेखि नेपालमा सुपारी आयात गरेर अवैध रूपमा भारत निकासीको काम सुरु भएको हो । खासगरी सीमावर्ती सहरमा यो व्यापार बढी केन्द्रित बन्यो । विगतमा सुपारीको कारोबार खुलेआम थियो । भारतीय व्यापारी खरिदका लागि आउँथे । भन्सार नाकाबाटै खुलेआम मेची तार्थे । सुपारी खरिदबिक्रीका लागि भारतीय व्यापारीहरूको ‘मेला’ नै लाग्थ्यो ।

झापा सुपारी उत्पादनका लागि परिचित छ तर तस्करीका लागि बदनाम । मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया जस्ता मुलुकबाट भित्रिने सुपारीको ‘साम्राज्य’ छ झापामा । जसले स्थानीय उत्पादन जबर्जस्त किनारा लागेको झापाको मेचीनगरमा सञ्चालित सुपारी प्रशोधन केन्द्रका सञ्चालक अनिल भेटुवालको आरोप छ ।

झापाका बाहुनडाँगी, शान्तिनगर, बुद्धशान्ति, अर्जुनधारा, मेचीनगर आदि क्षेत्र सुपारी उत्पादनका लागि परिचित छन् । त्यहाँबाट व्यापारीले खरिद गरेर ल्याएको सुपारी जिल्लाका विभिन्न प्रशोधन केन्द्रसम्म पुर्‍याइन्छ । जिल्लामा दर्जनौं प्रशोधन केन्द्र (सुपारी भट्टी) छन् । पहिला–पहिला भारतीय व्यापारीले घर–घर पुगेर काँचो सुपारी खरिद गर्ने र भारततिर लैजाने चलन थियो । तर स्थानीय प्रशासनले काँचो सुपारी निकासीमा रोक लगाएपछि भारतीय व्यापारी निरुत्साहित छन् ।

‘भारतीयले नेपाली सुपारी बोटबाटै ताछेर लान्थे,’ भेटुवालले भने, ‘अहिले कम्तीमा भारतीयले काँचो सुपारी लैजान पाएका छैनन् । सुपारी प्रशोधनपछि मात्रै जान्छ ।’ आयातित सुपारीका कारण नेपाली उत्पादनले अनावश्यक समस्या झेल्नुपरेको दाबी गर्दै बुधबारे–९ का किसान मनोरथ तिवारीले थपे, ‘तेस्रो मुलुकको सुपारी आयात बन्द गरे समस्या र चलखेल सकिन्छ ।’ कान्तिपुर दैनिकबाट

सम्बन्धित समाचार