२०७८ माघ ५ गते , बुधवार

कचनकवल गाउँपालिकाको दबाबमा शिक्षक नियुक्ति, विद्यालयले लुकायो सूचना

कचनकवल गाउँपालिकाको दबाबमा शिक्षक नियुक्ति, विद्यालयले लुकायो सूचना :: Times of Pradesh

(पार्थ मण्डल) झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकाको दबाब र प्रभावमा परेर सामुदायिक विद्यालयहरूले शिक्षक नियुक्ति गर्ने गरेको पाइएको छ । 

पार्टीगत दबाब कै कारण कचनकवल गाउँपालिका–२ सुकुनाडिगीस्थित लक्ष्मीप्रसाद देवकोटा माविले राहत कोटाको शिक्षक पदपूर्तिको आव्हान सार्वजनिक सूचना १५ दिनसम्म लुकाएपछि सर्वत्र विरोध सुरु भएको छ । विद्यालयले शिक्षक पदपूर्तिको सूचना नियमसंगत नभएपछि स्थानीय शिक्षकहरू यसप्रति असन्तुष्ट जनाएका छन् । विद्यालयले शिक्षक पदपूर्तिको विज्ञापन खुलाउँदा जारी मितिसहित समयावधि तोकेर सम्बन्धी निकायहरूमा टाँस गर्नुपर्ने हुन्छ । 

शिक्षा ऐन तथा नियमावलीमा (५) उपनियम (३) बमोजिम शिक्षक नियुक्तिको लागि गरिएको विज्ञापनको सूचना शिक्षा, विकास तथा समन्वय इकाई, सम्बन्धी विद्यालयको स्रोत केन्द्र र सम्बन्धी पालिकामा टाँस्नु पर्ने हुन्छ । तर, लक्ष्मीप्रसाद देवकोटा माविले सार्वजनिक गरेको सूचना १५ औं दिनपछि विद्यालयमा टाँस गरेको छ । विद्यालयले सो सूचना शिक्षा समन्वय इकाई, सम्बन्धी विद्यालयको स्रोत केन्द्र र कचनकवल गाउँपालिकामा नटाँसेको भेटिएको छ । 

शिक्षा विकास तथा समन्वय इकाईको मिति २०७८ मङ्सिर २७ गतको चलानी नम्बर ७०४ को प्राप्त पत्रानुसार विद्यालयले निमावि तहको अंग्रेजी विषयको राहत शिक्षक (एक) पदपूर्ति गर्ने अनुमति प्राप्त भए अनुसार मङ्सिर २८ गते सूचना प्रकाशन मिति राखेको छ । तर, यो सूचना विद्यालयले पुस १४ गते विद्यालयमा टाँस गरेको हो । विज्ञापनमा भनिएको छ, १५ दिनसम्म शिक्षक सेवा आयोगबाट करार सूचिमा उम्मेदारहरुका लागि र १५ दिनपछि ७  दिनसम्म खुल्ला उम्मेदवारका लागि भनी उल्लेख छ । 

विद्यालयले १५ दिनपछि विज्ञापन सार्वजनिक गर्दा आयोगबाट करार सूचिका उम्मेदवारहरूलाई आवेदन भर्नबाट वञ्चित गराइएको छ । अब विद्यालयले खुलातर्फबाट आवेदन लिएर राहत शिक्षक नियुक्ति गर्न खोजेको हो । आयोगबाट करार सूचिका शिक्षकहरूलाई वञ्चित गराउँदै विद्यालयले सूचना लुकाउँदा विद्यालय कार्यरत शिक्षकहरू पनि आश्चर्यमा परेका छन् । ‘विद्यालयले प्रकाशन गरेको सूचना १५ दिनपछि सार्वजनिक गर्दा यसमा राजनीतिक चलखेल भएको हो,’ विद्यालयका एक शिक्षकले भने । 

कचनकवल २ निवासी चाँगुनारायण नेपालले सार्वजनिक सूचना १५ दिनसम्म लुकाएर राख्नु कार्य गलत भएको बताए । पेसाले शिक्षक समेत रहेका नेपालले भने, ‘मेरी श्रीमती पनि राहत कोटाका अंग्रेजी शिक्षक हुन्, उनी अहिले अर्जुनधारा संस्कृति विद्यालयमा कार्यरत छिन् ।’ उनका अनुसार श्रीमतीलाई त्यही विद्यालयमा ल्याउन धेरै प्रयास गरियो । गाउँपालिकाका अध्यक्ष अन्जारा आलम र विद्यालय व्यवस्थापन समितिलाई पनि पटक पटक मौखिक जानकारी गराइयो । ‘मेरो मागको सुनवाइ त भएन र अहिले सूचना लुकाएर आयोगको करार सूचिमा परेकालाई पनि वञ्चित गराएको कार्यको विरोध गर्छु,’ उनले भने । 

विद्यालयले सूचना मात्र लुकाएन । विद्यालयले नेपाली शिक्षकको ठाउँमा अंग्रेजी विषयको शिक्षक माग समेत गरेको छ । विद्यालयमा कार्यरत राहत निमावि तहका शिक्षक मिना बस्नेतले केही समयअघि मात्र त्यहाँबाट सरुवा भएर पहुँत जनज्योति मावि भद्रपुर गइसकेकी छिन् । त्यसपछि विद्यालय व्यवस्थापन समितिले राहत शिक्षकको पदपूर्तिका आव्हानका लागि सूचना निकाल्ने निर्णय गरेको थियो । विद्यालयले पहिलै नै शिक्षक नियुक्ति कसलाई गर्ने भनी आन्तरिक निर्णय गरिसकेको बुझिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितकुमार श्रेष्ठले विद्यालयका एक शिक्षकका आफन्तजनलाई नियुक्ति गर्न खोजेको बुझिएको हो । 

अध्यक्ष श्रेष्ठ र ती शिक्षक दुवै राप्रपा आबद्ध छन् । गाउँपालिकामा कै राप्रपाको बहुमत छ । राप्रपाकै निर्देशन र दबाब अहिले गाउँपालिकाभित्र शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी भर्ती केन्द्र जस्तै बनाएपछि अन्य राजनीतिक दलहरूले विरोध स्वरूप आवाज उठाउन थालिसकेको छ ।  यता यस बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठ र प्रधानाध्यापक सुभद्रा अधिकारीलाई पटक-पटक फोन सम्पर्क गर्न खोजियो । तर, उनीहरूको फोन नउठदाँ सम्पर्क हुन सकेन । 




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment