२०७८ माघ ५ गते , बुधवार

जाँच्‍ने बहानामा भारतीय गोदाममै थन्कियो नेपाली चिया

जाँच्‍ने बहानामा भारतीय गोदाममै थन्कियो नेपाली चिया :: Times of Pradesh

झापा । भारतीय अवरोध कायमै रहे पनि मंसिरमा करिब १४ करोड रुपैयाँ मूल्य बराबरको करिब ५ लाख किलो नेपाली चिया भारत निर्यात भयो । तर निर्यात भएको अधिकांश चिया भारतीय बजारमा पुग्न सकेको छैन । बरु सिलिगुडीको एउटा गोदाममा थन्किएर बसेको छ ।

भारतको चिया काउन्सिलले उपलब्ध गराउने अस्थायी परमिटपछि मात्रै नेपाली चिया निर्यात हुन्छ । निर्यात भएको चिया गोदाममा लगेर भण्डारण गरिन्छ । चियाको नमुना संकलनको बहानामा गोदाममै पुग्छन्, काउन्सिलका अधिकारी । नमुना संकलन गरी जलपाइगुडी पठाइन्छ । नतिजा आउन कम्तीमा तीन साता लाग्छ । ‘अहिले नाका पार गर्न खासै समस्या छैन,’ झापा भद्रपुरका चिया उद्यमी आदित्य पराजुलीले दुखेसो पोखे, ‘तर, गोदाममा ह्यारेसमेन्ट भइरहेको छ ।’

भारतीय रबैयाले पछिल्लो समय झापाका ३० बढी कारखानाले निर्बाध चिया निर्यात गर्न सकेका छैनन् । अहिले करिब आधा करोड किलो चिया झापाका विभिन्न कारखानामा थन्किएको छ । प्रत्येक कारखानाका गोदाममा २–३ लाख किलो चिया थन्किएको छ । चिया काउन्सिलले दिने सास्तीका कारण चिया आयातकर्ता भारतीय व्यापारीहरूले नेपाली चिया खरिदमा खास रुचि देखाइरहेका छैनन् । ‘नेपाली चिया किन्न भारतीय व्यवसायी हच्किरहेका छन्,’ नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तल भन्छन्, ‘यसले समग्र चिया व्यापारमै संकट पैदा हुन सक्ने सम्भावना बढेको छ ।’

नेपालको ६० प्रतिशत बढी चिया भारतीय बजारमा खपत हुँदै आएको मित्तलको भनाइ छ । तर विभिन्न बहानामा भारतले नेपाली चियामाथि सास्ती दिइराख्ने हो भने निकट भविष्यमा नेपाली चियाको निर्यात व्यापार पूर्ण रूपमै ठप्प हुन सक्ने मित्तलको चेतावनी मित्तलको छ । ‘विभिन्न बहानामा नेपाली चियामाथि निषेध गर्ने षड्यन्त्र सुरु भइसकेको छ’, उनी थप्छन्, ‘यस विषयमा सरकारले बेलैमा होस नपुर्‍याए गम्भीर अवस्था आउने पक्का छ ।’

अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपाली चियाको मूल्यमा पनि गिरावट आएको हल्दीबारी साना चिया किसान सहकारी संस्थाका अध्यक्ष हर्क तामाङले जानकारी दिए । अघिल्लो वर्ष प्रतिकिलो २ सय ३० रुपैयाँमा बिक्री भएको चिया यसपालि १ सय ३ रुपैयाँमा पनि बिकिरहेको छैन । ‘किनेको चिया भारतीय बजारमा बिक्री गर्नर्कुो साटो गोदाममा थन्काउनुपर्ने बाध्यताले चिया किन्न भारतीय व्यापारी बिलकुल उत्साहित छैनन्,’ तामाङले भने । नेपाली चियाको समस्या समाधानका लागि सरकार मातहतकै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पनि पहल सुरु गरेको छ । बोर्डका महानिर्देशक विष्णुकुमार भट्टराईले तीन दिनअघि झापाका चिया किसान तथा उद्यमीहरूसँग चिया समस्याबारे छलफल गरेका थिए ।

नेपाली चिया निर्यातमा पटकैपिच्छे हुने भारतीय अवरोधको स्थायी समाधानका लागि काम भइरहेको उनको दाबी थियो । चाँडै सरकारकै आयोजनामा भारतमा पत्रकार सम्मेलन गरी नेपाली चियाको वास्तविकताबारे भारतीय सञ्चारमाध्यमलाई जानकारी गराउने पनि जनाएका थिए । यसैबीच सीटीसी चियाको क्वालिटी ट्रेडमार्क कार्यान्वयनका लागि चाँडै निर्देशिका तयार गरिने जनाइएको छ । निर्देशिका र कार्यविधि तयारीका लागि चिया तथा कफी विकास बोर्डका सदस्य आदित्य पराजुलीको संयोजकत्वमा चिया किसान, उद्यमी र बोर्ड सम्मिलित नौ सदस्यीय उपसमिति निर्माण गरिएको छ । कान्तिपुर दैनिकबाट



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment