२०८२ बैशाख ५ गते , शुक्रबार

कम गुणस्तर पाइएको भन्दै मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट बिक्रीमा रोक

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २ गते , विहीबार
कम गुणस्तर पाइएको भन्दै मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट बिक्रीमा रोक
झापा । गुणस्तर तथा नापतौल विभागले तीन उद्योगको सिमेन्टको बिक्री वितरण रोक्का गरेको छ । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा कम गुणस्तर पाइएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण दिन समेत पत्राचार गरेको छ ।

ती सिमेन्टको गुणस्तर परीक्षण गर्दा मापदण्ड अनुरूप गुणस्तर नभएकाले बिक्री वितरणमा रोक लगाउँदै स्पष्टीकरण सोधिएको विभागले जनाएको छ । ‘सिराहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्ड अनुसार गुणस्तर पुगेन,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘कम्पनीले ४३-५३ ग्रेड भएको दाबी गरे पनि त्यो देखिएन ।’ पुडासैनीका अनुसार मारुतीबाट सङ्कलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । युनाइटेडको कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३७ र ५३ हुनुपर्नेमा न्यूनतम ३५ र ३९ थियो । यस्तै, जगदम्बाबाट सङ्कलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ १६ र २२ हुनुपर्नेमा १५ र २० मात्रै पुगेको थियो ।

‘सिमेन्टको स्ट्रेन्थ कम हुनु भनेको गुणस्तर कम हुनु हो,’ उनले भने, ‘मारुतीको ओपिसी ४३ ग्रेड, युनाइटेडको ओपिसी ग्रेड ५३ र जगदम्बाको पिपिसीको बिक्री वितरण रोक्न पत्राचार गरेका छौँ ।’ ती कम्पनीहरूलाई गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अनुसार स्पष्टीकरण सोधी कारबाही गरिने उनले बताए । गुणस्तर कम भेटिएको ब्याचका सिमेन्ट बजारबाट फिर्ता लिन पनि विभागले निर्देशन दिएको छ ।

सम्बन्धित समाचार