२०७८ मंसीर १३ गते , सोमवार

नेपालले जित्यो कतारविरुद्ध टी–२० शृंखला

नेपालले जित्यो कतारविरुद्ध टी–२० शृंखला :: Times of Pradesh

झापा । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्ध टी–२० सिरिज जितेको छ। दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै नेपालले सिरिज २–० ले जितेको हो। यससँगै नेपालले नयाँ इतिहास रचेको छ। नेपालले पहिलो पटक टी–२० अन्तरराष्ट्रिय सिरिज जित्दै इतिहास रचेको हो।

नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कतारले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्र बनाउन सक्यो।उसका लागि कप्तान आयशाले २४ र केरी पाउनसेटले १५ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा समेत रन बटुल्न सकेनन्। नेपालका लागि सरस्वती कुमारीले उत्कृष्ट बलिङ गरिन्। उनले ४ ओभरमा मात्र ८ रन खर्चिएर ४ विकेट लिइन्। यसक्रममा उनले एक ओभर मेडनसमेत राखिन्।

यस्तै, कप्तान रुविना क्षत्रीले २ तथा सबनम राई, कविता जोशी र संगीता राईले १र१ विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो। नेपालका लागि कप्तान रुविना क्षत्रीले अर्धशतकीय पारी खेलिन्। उनले ४८ बलमा ४ चौका र १ छक्कासहित ५० रन बनाइन्। यो उनको पहिलो टी–२० अर्धशतक हो। यससँगै उनी नेपालबाट टी–२० अन्तरराष्ट्रियमा अर्धशतक बनाउने पहिलो महिला कप्तानसमेत बनेकी छन्।

यस्तै, कविता कुँवरले ३१, अप्सरी बेगमले अविजित २३, ज्योति पाण्डेले ६, सरिता मगरले ४, काजल श्रेष्ठले ३ बनाउँदा डोली भट्ट शून्यमा रनआउट भइन्। बलिङमा एन्जेलिन मारेले २ तथा एलिना खान, साची धडवाल र सबिजा पाणयनले १÷१ विकेट लिए। ३ खेलको सिरिजमा नेपाल २–० ले अगाडि छ। नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ रनको विशाल अन्तरले पराजित गरेको थियो। आइसिसी महिला टी–२० विश्वकपको एसियाली छनोटको तयारीस्वरूप नेपालले कतारसँग ३ खेलको सिरिज खेलिरहेको हो।

सिरिजअन्तर्गत कतारसँगको अन्तिम खेल मंसिर ३ गते हुनेछ। त्यसपछि नेपाल विश्वकप छनोटका लागि दुबई प्रस्थान गर्नेछ। विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा हुनेछ। छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएईसहित ६ राष्ट्र सहभागी छन्। विजेता टोलीले आगामी वर्ष हुने टी–२० ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ। नेपालले मंसिर ७ गते दोस्रो खेलमा भुटानसँग, मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ। थाहाखबरबाट



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment