२०७८ मंसीर १३ गते , सोमवार

सावधान! बजारमा नक्कली मल, नुनमा रातो माटो मिसाएर मल बनाउने दुई जना पक्राउ

सावधान! बजारमा नक्कली मल, नुनमा रातो माटो मिसाएर मल बनाउने दुई जना पक्राउ :: Times of Pradesh

झापा । झापामा नक्कली रासायनिक मल बनाउने घरमा प्रहरीले छापा मारेको छ। देशभर रासायनिक मलको अभाव भइरहेको बेला घरमै नक्कली मल (पोटास) बनाएर बजार बिक्री वितरण गर्दै आएका कनकाई नगरपालिका– ३ स्थित सुरुङ्गाको तिलक पौड्यालको घरमा प्रहरीले सोमबार छापा मारेको हो। प्रहरीले पौड्यालको घरबाट नुनमा रातो माटो मिसाएर नक्कली पोटास बनाई बिक्रीका लागि बजार लैजान ठिक्क पारेको १६ बोरा नक्कली मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए।

प्रहरीले सुरुङ्गा बजारस्थित भट्टराई कृषि भण्डारमा बिक्रीका लागि राखिएको १३ बोरा नक्कली पोटास र पौड्यालको घरबाटै केही खाली बोरा, नुन र रातो माटो, नुन राख्ने ५० वटा खाली बोरा, बोरा सिलाउने सियो धागो समेत फेला पारेको छ। इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली घटनास्थल पुगेर छापामा मारेसँगै नक्कली मल बनाउने चार जना त्यहाँबाट भाग्न सफल भएका थिए। प्रहरीले घरधनी पौड्याल र नक्कली मल बिक्री गर्ने भट्टराई कृषि भण्डारका कमल भट्टराईलाई पक्राउ गरेको छ।

घरधनी पौड्याल पेसाले अटो चालक हुन्। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको एसपी भट्टराईले बताए। भट्टराई कृषि भण्डारले झापासहित पहाडी जिल्लाहरूमा रासायनिक मल पठाउँदै आएको थियो। भट्टराई कृषि भण्डारले नक्कली मल बेचेको स्थानीय किसानले थाहा पाएपछि कृषकहरूले विरोध प्रदर्शनसमेत गरेका थिए। ‘मल नपाएको बेला महँगो मूल्य तिरेर खेतमा हालेको मल नै नक्कली भएको बल्ल थाहा पायौँ,’ स्थानीय कृषक राजकुमार श्रेष्ठले भने, ‘नक्कली मल बनाएर किसानलाई ठगी गर्ने र कालोबजारी गर्ने गिरोहलाई कानुन बमोजिम कारबाही हुनुपर्छ।’ 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment