शनिश्चरे-खुदुनाबारी सडक खण्ड अझै बनेन, स्थानीयले गरे सडक बन्द

झापा। झापाको पुरानो बजार शनिश्चरेदेखि खुदुनाबारी जोड्ने सडकमा ढाट लगाएर स्थानीयले बन्द गरेका छन् । उनीहरूले देउसीको शैलीमा भट्ट्याउँदै बाटो अवरुद्ध गरेका हुन् ।
अर्जुनधारा नगरपालिकाको ७ नम्बर वडाअन्तर्गत रहेका बाह्रदशी पुलदेखि गणेश पथ हुँदै रुपरत्न मेमोरियल स्कुलसम्म ढाट लगाएर स्थानीयले बन्द गरेका हुन् । खुदुनाबारीदेखि नारायण चोकसम्म कालोपत्रे भएको छ । तर, नारायण चोकदेखि शनिश्चरे बजारसम्म करिब डेढ किलोमिटर सडकमा ग्राभेल गरेर छाडिएपछि स्थानीयले धुलोका कारण स्वास्थ्यमा समस्या देखा परेको भन्दै बन्द गरेका हुन् । शनिश्चरे बजारदेखि खुदुनाबारी जाने सडकको नारायण चोकसम्म ठेकेदार कम्पनीले सडक कालोपत्रे गरेको छैन ।
करिब २ वर्षदेखि ठेकेदार कम्पनीले उक्त सडक खण्डमा ग्राभेल गरेर छाडेको छ । उक्त सडकमा दैनिक एक हजारको हाराहारीमा २ चक्के सवारीदेखि हाइवाजस्ता हेवी भेहिकल आवतजावत हुने गरेको छ । निर्माण सामग्री ओसारपसारका लागि ट्याक्टर, टिपर, बिर्तामोडदेखि खुदुनाबारी, इलामको दानावारि, जितपुर, मङ्गलवारे लगायत इलामको दक्षिणी पालिकामा यसै सडकबाट यात्रुवाहक सवारी चल्ने गरेको छ । धुलोका कारण आजित भएर फेरि बाटो बन्द गर्नुपरेको स्थानीय बासिन्दा तथा नेकपा एमाले अर्जुनधारा नगर कमिटी सदस्य मुना बास्कोटाले बताइन् ।
उनले नगरपालिकामा पटक पटक ताकेता गर्दा पनि सडक नबनेकाले स्थानीयवासी फेरि बाटो बन्द गर्न बाध्य हुनु परेको बताइन् । शनिश्चरेदेखि खुदुनाबारीहुँदै इलामको दक्षिण भेग जोड्ने मुख्य सडकको करिब ३ सय मिटर सडक खण्ड अवरुद्ध भएको छ । कालोपत्रे नभइन्जेल बाटो बन्द नै रहने बास्कोटाले बताइन् । तीन सय मिटर क्षेत्र वरपरका स्थानीयले आइतबार साँझ पौने ६ बजेदेखि सडक अवरुद्ध गरेका हुन् । फाइल तस्बिर