२०८२ बैशाख ५ गते , शुक्रबार

हुलाकी राजमार्गको अवस्था : सडक निर्माणले तिव्रता पायो, पक्की पुल नबन्दा समस्या

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २७ गते , शनिबार
हुलाकी राजमार्गको अवस्था : सडक निर्माणले तिव्रता पायो, पक्की पुल नबन्दा समस्या

(डिकेश लामा) झापा । बहुप्रतिक्षित हुलाकी सडक अन्तर्गत झापाको केही विवादित क्षेत्रमा समेत पछिल्लो समय धमाधम काम हुन थालेका छन् । तर, सडक धमाधम बने पनि पुलहरू नबन्दा भने सडक सञ्चालनमा समस्या भएको छ । 

लामो समय विवादले निर्माणमा समस्या भएको झापाको हुलाकी सडक खण्ड अन्तर्गत झापा र गौरीगंज बजार क्षेत्रमा धमाधम निर्माण कार्य भइरहेको छ । अन्य भूभागमा कालोपत्रे भइसक्दा झन्डै ३ किलो मिटर क्षेत्र विवादले रोकिएको भए पनि हालै आएर निर्माण भइरहेको हुलाकी सडक निर्देशनालय योजना प्रमुख दीपेन्द्र पाण्डेयले बताए । पाण्डेयका अनुसार झापाको बजार क्षेत्रमा खानेपानीले ल्याएको समस्या समेत हटेकोले निर्माण कार्य भइरहेको छ । यस्तै यता गौरीगंज बजार क्षेत्रमा समेत धमाधम काम भइरहेको बताए ।

गौरीगंज क्षेत्रमा १० किलो मिटर सडक आस पायल प्रविधिमा कालोपत्रे भइसकेको छ । सडक निर्माण तीव्र भए पनि केही पुल निर्माणको काम ढिला हुँदा सडक सञ्चालनमा समस्या रहेको गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बाटोको काम मोतिदान निर्माण कम्पनीले चाँडो र राम्रो गरेको भए पनि पुल निर्माणमा ढिलाइ हुँदा सडक सञ्चालनमा नै समस्या भएको छ । गौरीगंज क्षेत्रमा मात्र हुलाकी सडक अन्तर्गत ६ वटा पुलहरू पर्दछन् । जस मध्ये मुख्य कनकाई नदीको पुल निर्माण थालेको १ दशक नाघी सक्दा समेत निर्माण नहुँदा हुलाकी सडक निर्माण भएर पनि सञ्चालन आउन नसक्ने अवस्था रहेको स्थानीय बासिन्दा ईश्वर माझीले बताए । 


बजारको मुख्य क्षेत्रमा ४ ल्यान्डको सडक बन्ने हुँदा केही घर भत्कने वा हटाउनु पर्ने अवस्थाले विवाद सृजना भएको थियो । विवाद मिले पछि हालै आएर धमाधम सडक बन्न थालेकाले चाँडै कालोपत्रे सडकमा हिँड्न पाइने आशा पलाएको स्थानीयले बताएका छन् । विवादित स्थान बाहेक झापाको माई पश्चिम र रतुवा पूर्वको १४ नम्बर प्याकेजको झन्डै ९० प्रतिशत सडक कालोपत्रे भइसकेको छ । सडक निर्माण गरे पनि पुलहरू समयमा नबन्दा अझै पनि समस्या भोग्नु परेकाले चाँडै पुल निर्माण गर्न स्थानीय माग गरेका छन् ।

सम्बन्धित समाचार