२०७८ मंसीर १२ गते , आईतवार

विधिको बर्खिलाप गर्दै कांग्रेस !

विधिको बर्खिलाप गर्दै कांग्रेस ! :: Times of Pradesh


—राजबाबु शंकर


निर्धारित समयमै महाधिवेशन नगरेर नेपाली कांग्रेस वस्तुतः वैधानिक संकटमा फँसिसकेको भए पनि सोको चेत पार्टी नेतृत्वलाई नभएको झैं प्रतीत भइरहेको छ । संविधान बमोजिम राजनीतिक दलको विधानमा कम्तीमा ५ वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको चुनाव हुने व्यवस्था हुनुपर्छ । विषम अवस्थामा पनि ६ महिनाभन्दा बढी महाधिवेशन नगरिकनै चलायमान दिने छुट संविधानतः छैन । तथापि उपधारामा उल्लेख प्रतिबन्धात्मक प्रावधानको ‘तर विशेष परिस्थिति उत्पन्न भई ५ वर्षभित्र पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिनेगरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन’ भनिएकोलाई कांग्रेसले आफ्नो सुविधामा उपयोग गरेर त्यसउताको समय पनि घर्काएको छ ।

लोकतान्त्रिक विधिलाई चलायमान तुल्याउने मुख्य कर्ताहरू भनेका राजनीतिक दलहरू नै हुन् । र, तिनलाई आन्तरिक रूपमा पनि लोकतान्त्रिक बनाउनकै निम्ति संविधानमै यस्तो बाध्यात्मक व्यवस्था गरिएको हुनु पर्छ । तर, त्यो बाध्यात्मक प्रावधानलाई पनि उल्लंघन गरेर आफूलाई लोकतन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेसले निर्लज्ज तवरमा विधि–विधान मिचिरहेको छ । यसै पनि साढे ५ वर्षउता एक दिन पनि महाधिवेशन नगरी अघि बढ्नु संविधानको बर्खिलाप हो, जुन गलत बाटोमा कांग्रेस चलिरहेको छ । अझ कांग्रेसकै विधानमा त ‘कुनै पनि तहको नेतृत्वको कार्यकाल ४ वर्ष हुने उल्लेख छ । विशेष परिस्थितिमा ६ महिना थप गर्न सकिने’ भनिएको छ ।

पार्टीको आवधिक महाधिवेशन नगरेर नेपाली कांग्रेसले सम्बैधानिक व्यवस्थाकै धज्जी उडाउनु एउटा गलत नजीर हुँदै हो । यसरी देशको सम्बैधानिक प्रावधानमाथि बलमिचाइँ गरेर अघि बढ्न खोज्ने दुष्प्रवृत्ति आलोच्य मात्र होइन, दण्डनीय समेत छ । सम्बन्धित सम्बैधानिक निकाय निर्वाचन आयोगले कांग्रेसलाई यस्तो मनपरी गर्ने छुट दिन नहुने हो । २०७२ सालको फागुनमा १३ अ्रौं महाधिवेशन गरेको कांग्रेसले गत फागुनभित्रै आफ्नो चौधौं महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने भए पनि संविधानतः छुट पाइने थप ६ महिनाको अवधि गत भदौ पनि घर्काएर त्यसको ३ महिनापछि तोकिएको अधिवेशनको कार्यतालिकामा पनि पुनः हेरफेर गरिनु सो पार्टीको गाईजात्रे तमाशा हो ।

कांग्रेसले बहाना बनाउँदै आएको कोरोना महामारीको असर पक्कै हो । तर, सोही बहानाबाजीको आडमा कांग्रेसले पार्टीभित्रको क्रियाशील सदस्यता विवाद, पदीय लेनदेन, पार्टीमा कब्जा जमाउने दुर्नियत र शक्तिको छिनाझप्टी लगायतका आन्तरिक किचलोमा पर्दा लाउन खोज्नु सौम्य होइन । विधिको शासनको गायत्री जप्ने, अरूलाई लोकतान्त्रिक आदर्शको अर्ती फर्माउने

र हाल आएर सत्ताको नेतृत्व समेत गरिरहेको दल नै विधिको बर्खिलाप जान्छ भने भोलिको पुस्तालाई नजीर के रु भन्नै पर्छ– कांग्रेसबाट संविधान र कानून विपरीत जुन स्वेच्छाचारी रवैया भइरहेको छ, त्यो कानूनी राज्यको सोझै प्रतिकूल हो । साँच्चै भन्ने हो भने, संविधान उल्लंघन गर्ने दलले निर्वाचन प्रयोजनमा भाग लिन समेत नपाउनु पर्ने हो । त्यसैले अब पनि निर्वाचन आयोगले कानूनी व्यवस्थाको धज्जी उडाउने गतिछाडा कांग्रेसको कदम विरुद्ध चेतावनी दिन नसक्ने हो भने विधिको शासन केवल खोलाको गीत बन्ने पक्का नै छ ।




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment