२०८१ माघ २ गते , बुधबार
सारेगमप लिटिल च्याम्प्सको टप १५ मा बिर्तामोडकी कृपा पौडेल
बिर्तामोड । नेपालमै पहिलोपटक आयोजना भइरहेको नेपालकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय गायन रियालिटी सो ‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’ को टप १५ मा झापा बिर्तामोड –२ चारपानेकी १४ वर्षीया वाल गायिका कृपा पौडेल छनौट भएकी छिन् ।
हरेक शुक्रबार र शनिवार बेलुका ९ बजे ग्यालेक्सी फोरके र डोको युट्युब च्यानलबाट प्रसारण भइरहेको ‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’ को विभिन्न अडिसनमा देश तथा विदेशबाट सहभागी ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगीबाट उनी टप १५ मा छनौट भएकी हुन् ।
गत वर्ष १३ वर्षकै उमेरमा शिव ताण्डव स्तोत्र पाठ गरी म्युजिक भिडियो समेत निकालेर चर्चा बटुलेकी कृपाले ‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’मा पनि सहभागी भएर मेगा राउन्डमा अब्बल प्रस्तुति दिएर निर्णायक र ग्राण्ड जुरी मेम्बरको वाहवाही पाइरहेकी छिन् ।
सुरिलो स्वरकी धनी कृपाले ‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’ को हरेक इपीसोडमा निर्णायकहरू न्हु बज्राचार्य, इन्दिरा जोशी , कालीप्रसाद बास्कोटा र १५ जना ग्राण्ड जुरी मेम्बरहरू धर्मेद्र शेवान, विक्रम बराल, निशान भट्टराई, रवि ओड, सिडी विजय अधिकारी, प्राश्ना शाक्य, टीका प्रसाईँ, निशा देशार, किश्वर थापा, उद्देश श्रेष्ठ, बिसन योञ्जन, सरिता मिश्रा, मेनुका पौडेल, विश्व नेपाली र हर्क साउदको मन जित्न सफल भइरहेकी छिन् ।
बुवा कुमार पौडेल तथा आमा अनिता पौडेलकी सुपुत्री उनी चारपाने बिर्तामोडस्थित मोहनमाया माविमा कक्षा ९मा अध्ययनरत विद्यार्थी हुन् । बिर्तामोडमा रहेको सरगम संगीतालय र सप्तक म्युजिक क्लास बिर्तामोडमा सङ्गीत सिक्दै गरेकी उनले साहित्य चौतारी लगायत विभिन्न संघसस्थाहरुको आयोजनामा झापामा हुने विविध कार्यक्रममा समेत गीत गाएर दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध पार्थिन् ।
साङ्गीतिक क्षेत्रकी उदीयमान वाल गायिका कृपा ‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’ को उपाधि जितेर झापाको नाम देश तथा विदेशमा फैलाउने बताउँछिन् । ‘ रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’मा सहभागी भएर मेगा राउन्डमा अब्बल प्रस्तुति दिएकी कृपालाई विजेता बनाउन भोटको जरुरी भएको छ ।
तिहारपछि सुरु हुने भोटिङ राउन्डमा सहभागी भएर आफूलाई विजेता बनाउन उनले सबैसँग आग्रह गरेकी छिन् ।