२०८१ जेष्ठ १३ गते , आईतबार

टी–२० विश्वकप : स्कटल्याण्डविरुद्ध अफगानिस्तानको शानदार जित

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ८ गते , सोमबार
टी–२० विश्वकप : स्कटल्याण्डविरुद्ध अफगानिस्तानको शानदार जित

झापा । अफगानिस्तानले यूएईमा जारी आईसीसी टी–२० विश्वकपमा शानदार सुरुवात गरेको छ।  सुपर १२ अन्तर्गत आफ्नो पहिलो खेलमा स्कटल्याण्डविरुद्ध अफगानिस्तान १ सय ३० रनले विजयी भएको हो। शारजाहमा अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १०.२ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो।

उसका लागि जर्ज मुन्सेले २५, क्रिस ग्रीभ्सले १२ र कप्तान काइल कोएट्जरले १० रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

अफगानिस्तानका लागि मुजीब उर रहमान र राशिद खानले घातक बलिङ गरे। रहमानले ४ ओभरमा मात्र २० रन खर्चिएर ५ विकेट लिए। यससँगै उनी टी–२० विश्वकपमा अफगानिस्तानका लागि एकै खेलमा पाँच विकेट लिने पहिलो खेलाडी बनेका छन्। यो उनको टी–२० विश्वकप डेब्यू म्याचसमेत हो। यस्तै,राशिदले २।२ ओभरमा ९ रन दिएर ४ विकेट लिँदा नवीन उल हकको नाममा एक विकेट रह्यो।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएरन १ सय ९० रन बनाएको थियो।उसका लागि नजिबुल्लाह जद्रान र रहमानउल्लाह गुर्बाजले शानदार ब्याटिङ गरे। जद्रानले ३३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५९ रन बनाउँदा गुर्बाजले ३७ बलमा ४ छक्का र १ चौकासहित ४६ रनको योगदान दिए।

यस्तै, मोहम्मद शहजादले २२, हजरतुल्लाह जाजाईले ४४ र कप्तान मोहम्मद नाबीले नटआउट ११ रन जोडे। बलिङमा सफायान सरिफले २ तथा जोश डेभी र मार्क वाटले १–१ विकेट लिए।

सम्बन्धित समाचार