२०८० मंसीर २० गते , बुधबार
युवा वर्ग : अबका विश्वस्त अभियन्ता

—राजबाबु शंकर
हामीले बरोबर सुन्दै आएका र भन्दै पनि आएका कुरा हुन्— दलका नेताहरू भ्रष्ट भए, लोभी–पापी भए, नेताहरूले देश लुटे । यस्ता देशप्रति बेइमान र जनताप्रति गद्दार नेताहरू शासक रहुन्जेल नेपाल कहिल्यै बन्दैन ।... आदि इत्यादि । हो... यो दुर्दशाका साक्षी र तिनै नेतागणको कुकर्मबाट सिर्जित एकपछिअर्को समस्याबाट पीडित हामी सबै हौँ । यसको चिन्ता आम नेपालीमा छ । र, अब यस्ता समस्याहरूबाट समान रूपमा पीडित साझेदारहरूले गहिरो गम्न र साझा चिन्तन गर्नतिर घोत्लिन जरुरी भइसकेको छ ।
वास्तवमा देश र देशवासीको अवस्था चिन्ताजनक छ । त्यसैले अब यस्तो साझा चिन्तालाई साझा चिन्तनकै विषय बनाएर विचार र कर्मले ऐक्यबद्ध हुन जरुरी छ । नेता पतित भए, तिनले राजनीति बिगारे, शासनमा तानासाही लादे र आ–आफ्नो कुस्वार्थमा देश–जनताको भविष्य दाउमा लगाए, मति सुध्रिएको पनि छैन र अझै लगाइरहेकै छन् ! अब तत्काल त्यसको निदान पहिल्याएर उपचारतिर नलाग्ने हो भने यी कुशासनीहरूले भविष्य सुरक्षित राखिदिने छैनन् – यो सावधानी अबको प्राथमिकता हुनुपर्छ, र त्यतातिर युवा वर्गले नेतृत्व लिन ढिलो हुँदैछ ।
युवाहरू भविष्यका कर्णधार त हुन् नै, वर्तमानका साझेदार पनि हुन् । यसरी नै र यही क्रमबद्धतामा घोर स्वार्थी, भ्रष्टाचारी र राज्यको सम्पत्तिमा लूट मच्चाइरहने नेतालाई सत्तामा चढाइरहनु भनेको देशलाई चितामा चढाउनु बराबर हो भन्ने सोचका साथ खासगरी यो देशका राष्ट्रभक्त युवा वर्गले वारपार अभियान छेड्नु अत्यावश्यक भइसकेको छ । हामी नागरिकले आफ्नो शक्ति बुझ्न जरुरी छ । आफन्त वा असल साथी मात्रै नभएर शासक चिन्ने पनि आपत्विद्कै बेला हो । देश र नागरिकलाई जानाजान र बारम्बार पीडित तुल्याउने, दुःख दिने अनि हरतरहका हथकण्डा अपनाएर सत्तामा लिपास्सिइरहने मात्रै रहने धुन्धुकारि नेतागणको प्रतिस्थापन नै वर्तमानको एक सगोल साझा एजेन्डा बनाउनु पर्ने आवश्यकता प्रश्नविहीन भएको छ । एक–एक मिलेरै लाख बन्ने हो । देशका समस्यालाई लिएर सारा सचेत एवम् जागरूक युवा वर्ग सङ्गठित बन्ने हो भने नेतागणको अत्याचार–मैमत्तपन विरुद्धको आवाज सघन र जेहाद सशक्त बन्न जान्छ ।
विधिको बर्खिलाप काम गर्ने शासक–प्रशासकहरूलाई प्रतिकार गरौँ । आफूले आस्था राखेका दलका नेताहरूले जतिसुकै खराब गरे पनि राम्रो देख्न छोडौँ । राज्यबाट तलब–भत्ता सुमर्ने, तर जनमैत्री काम नगर्नेहरूलाई घेराबन्दी गरेर प्रश्न गरौँ । नागरिकको करबाट चल्ने व्यक्ति र संस्थाका हर क्रियाकलापको चियो लिऔँ, तत्काल खबरदारी गरौँ । जबाफदेही नबन्ने शासकलाई बहिष्कार अनिवार्य गरौँ । हाम्रो करबाट तलब खाने जागिरेले कुनै दलको सदस्य लिएको छ भने जागिरबाट राजीनामा मागौँ । करबाट पालिएका दलको, गुटको, नेता–विशेषको चाकडी गरेर आफ्नो जागिरप्रति बेइमानलाई चेतावनी दिऔँ ।
सत्तामा हुँदा आफू र आफ्नाका लागि मात्रै काम गर्ने, तर सत्ताबाट गलहत्तिने बित्तिकै चाहिँ ठूल्ठूला कुरा गर्ने मतिभ्रष्ट नेतालाई अबउसो र्याख्र्याख्ती पार्न थालौँ । ५०–६० वर्षदेखि राजनीतिलाई कमाइखाने पेसा बनाएका, पटक–पटक मन्त्री र प्रधानमन्त्री भएका चरित्रस्खलित नेताहरूलाई बाइबाई गर्ने वर्तमानको अभिभारा अब युवाहरूकै काँधमा छ । वर्तमानदेखि भविष्यसम्मै मुलुक बनाउने र मुलुकवासीको सुशासनप्रतिको चिर अपेक्षा सम्बोधन गर्ने विश्वस्त अभियन्ता निश्चित रूपमा आजकै युवा हुन् ।