२०८१ श्रावण २ गते , बुधबार

झापाको ज्यामिरगढी नाकाबाट तस्करी, ९ लाखको स्पोर्टस जुत्ता बरामद

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १८ गते , सोमबार
झापाको ज्यामिरगढी नाकाबाट तस्करी, ९ लाखको स्पोर्टस जुत्ता बरामद

झापा । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको करिब ९ लाख मूल्य बराबरको जुत्ता बरामद गरिएको छ । नेपाल भारतको सीमा पिलर ९४ नजिकैबाट नेपाल भित्राइएको सो मूल्य बराबरको जुत्ता सशस्त्र र नेपाल प्रहरीले एउटै ठाउँबाट बरामद गरेको हो ।

मेचीनगर नगरपालिका- १५ स्थित टुक्रे बाध नजिकैबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले ८ लाख र सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीले ७५ हजार मूल्य बराबरको जुत्ता बरामद गरेको हो ।

बरामद गरिएको जुत्ता भद्रपुरका कारोबारीले ज्यामिरगढी नाकाबाट भित्राएको हो । सो सामान धुलाबारीका लाइनमेनले ल्याएको प्रहरी स्रोतले जनाएको छ । भारतबाट भन्सार छलेर १० पोका भन्दा बढी जुत्ता नेपाल भित्रिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार राती ११ बजे करिब ८ पोका अर्थात् ४२० जोर पाटी र स्पोर्टस जुत्ता बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । त्यस्तै सोही सूचनाको आधारमा सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीले त्यहीबाटै दुई पोका अर्थात् १३० जोर पार्टी र स्पोर्टस जुत्ता बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी प्रेम भण्डारीले जानकारी दिए ।

बरामद गरिएको जुत्ता सशस्त्र र नेपाल प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारीमा छ । भारतबाट नेपाल आउने जुत्ता अधिकांश विदेशी कम्पनीका हुन्छ । कारोबारीले भन्सार ल्याए पनि भन्सार कर्मचारीले तेस्रो मुलुकको सामान भन्दै राजश्व काट्न नमान्दा कारोबारीले तस्करीको माध्यमबाट जुत्ता र चप्पल भित्राउँदै आइरहेको छ ।  


सम्बन्धित समाचार