दिलमाया स्मृति कप फुटबल सुरु
झापा । दिलमाया स्मृति कप फुटबल प्रतियोगिताको छनौट खेल सुरु भएको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको छनौट खेल मङ्गलवारबाट सुरु भएको हो । प्रतियोगिताको उद्घाटन झापा क्षेत्र नम्बर ४ का सङ्घीय सांसद एलपी साँवाले गरेका थिए । साँवाकी ममतामयी माता दिलमायाको स्मृतिमा नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको आयोजनामा झापा क्षेत्र नम्बर ४ स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो ।
कनकाई नगरपालिकाको छनौट खेल कनकाई माविको खेल मैदानमा भएको थियो । सो खेलको उद्घाटन खेल सङ्घीय सांसद साँवा र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए । कार्यक्रममा बोल्दै साँवाले कोभिडका कारण थलिएको खेल क्षेत्रलाई थोरै भए पनि सहयोग पुर्याउन र दिवङ्गत माता दिलमायाको स्मृतिलाई ताजै राख्नका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।
कार्यक्रममा दिलमाया स्मृति कपका मूल समारोह समितिका संयोजक तथा नेपाल खेलकुद महासङ्घका केन्द्रीय सदस्य सुनिल भेटवालले प्रतियोगिता भव्य र सभ्य बनाउन आयोजकबाट कुनै कसर बाँकी नराख्ने जानकारी दिँदै प्रतियोगिताको प्रथम र दोस्रो पुरस्कार २ लाख २५ हजार र १ लाख २५ हजार रुपैयाँ राखिएको बताए ।
कार्यक्रममा कनकाई ३ नम्बर वडा अध्यक्ष रुद्रप्रसाद चिमरिया लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईँ, कनकाई ५ का वडाअध्यक्ष कृष्ण राई, कनकाई ३ का वडाअध्यक्ष छवि थपलिया लगायतको आतिथ्य रहेको थियो । स्वागत मन्तव्य नेकपा एमालेका कनकाई नगर अध्यक्ष रवीन्द्र लम्सालले राखेका थिए । पहिलो खेल कनकाई ३ र ६ बिच भएकोमा खेल अधुरो रहेको छ । समय बाँकी रहँदै अँध्यारो भएपछि बाँकी खेल बुधवार दिउँसो ३ बजेका लागि सारिएको आयोजक समितिले जनाएको छ । खेल गोल रहित बराबरी भएको थियो ।
वडा ५ र ७ को विजयी सुरुवात
यस्तै झापा गाउँपालिकामा भएको पहिलो दिनको छनोट खेलमा वडा ५ र ७ को विजयी सुरुवात भएको छ । झापा–७ को जनकल्याण माविको खेल मैदानमा सङ्घीय सांसद एलपी सावाँ लिम्बुले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटनकै दिन समूह ‘ए’ अन्तरगत झापा गाउँपालिका वडा ५ र १ बिच भएको पहिलो प्रतिस्पर्धामा वडा ५ विजयी भएको छ । ५ को जितमा उपहार गोल नै निर्णायक बनेको छ । ५ नम्बरका भरत हेमरमले हानेको गोललाई रोक्न खोज्दा अमरेस राईले आफ्नै गोलपोष्टमा बल छिराउँदा ५ नम्बर लक्की साबित भएको थियो । छेक्दा सो गोल पोस्टमा ठोकिएर गोलमा परिणत भएको थियो । त्यस्तै समूह ‘बि’ अन्तरगत भएको दोस्रो खेलमा वडा ७ ले वडा २ लाई ३–० को गोलान्तर पराजित गरेको छ । वडा ७ का मानबहादुर आले मगरले एक्लै २ गोल गरे भने सञ्जय टुडुले थप १ गोल गरे ।
झापा गाउँपालिकामा रहेका ७ वडा बिच छनौट खेल हुनेछ । खेलको अन्तिम दुई स्थान हासिल गर्ने वडाले दिलमाया स्मृति कपमा हुने खेलमा सहभागी हुन पाउने प्रारम्भिक छनौट समितिका संयोजक सनित राईले बताए । यसरी नै क्षेत्र नं–४ मा रहेका प्रत्येक पालिकामा छनौट खेल हुनेछन् । कुल २८ वडामा हुने प्रारम्भिक छनौट खेलबाट दिलमाया स्मृति कपमा ८ टिम सहभागी हुन पाउने छन् ।
क्षेत्र नं–४ का सङ्घीय सांसद एलपी सावाँ लिम्बुले आमाको स्मृतिमा सावाँ परिवारको प्रायोजन तथा संरक्षणमा सो कप आयोजना गरिएको हो । प्रतियोगिता आयोजनाको जिम्मा नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीले गर्नेछ । प्रतियोगिता आउँदो कार्तिक ८ गते देखि शिवसताक्षीमा हुने छ ।