२०८१ माघ २५ गते , शुक्रबार
राजश्व कर्मचारीको ज्यादतीविरुद्ध व्यापारी आन्दोलित, भद्रपुर भन्सारको राजश्व सङ्कलन प्रभावित
झापा । राजश्व अनुसन्धान कार्यालय इटहरीका कर्मचारीको ज्यादतीविरुद्ध भद्रपुरका व्यापारी र कारोबारी आन्दोलित बनेका छन् । भन्सारमा राजश्व बुझाएर लैजाँदै गरेका सरसामान राजश्व अनुसन्धानका कर्मचारीले भन्सार नजिकबाटै धरपकड गर्न थालेपछि उनीहरू आन्दोलित बनेका हुन । आन्दोलित बनेका उनीहरूले भद्रपुर भन्सार कार्यालयभित्रै बुधवार धर्ना दिएरै बसेका थिए । उनीहरूले बुधवार दिनभर कुनै पनि सरसामान राजश्व तिरेर लैजान मानेन ।
व्यापारी र कारोबारी सामान नलैजाँदा राजश्व सङ्कलन प्रभावित बनेको भद्रपुर भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत प्रमोद पौडेलले जानकारी दिए । भन्सारको गोदाममा कारोबारी र व्यापारीको सामानले भरिएको छ । राजश्व सङ्कलनमा प्रभावित नपार्न व्यापारी र कारोबारीलाई पटक–पटक सम्झाउन, बुझाउन खोज्दा पनि उनीहरूले नमानेको उनले बताए ।
व्यापारी र कारोबारीले भन्सारको अन्य कुनै गतिविधिमा अवरोध नरहेको उनको भनाई छ ।
यता आन्दोलित बनेका व्यापारी र कारोबारीले बुधवार बिहान झापा उद्योग वाणिज्य सङ्घ र भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । राजश्व अनुसन्धान कार्यालयले व्यापारीहरूलाई अनावश्यक दुःख दिइरहेकोले सहजीकरण गरिदिन सो ज्ञापन पत्र बुझाएको व्यवसायी रञ्जित रायाले जानकारी दिए ।
ज्ञापन पत्रमा भनिएको छ, अंशु इन्टरप्राइजेजका प्रोप्राइटर अंशु मित्तलको नाममा बिलविजक, भन्सार प्रज्ञापन पत्र र भिसिटिएस समेत हुँदाहुँदै भद्रपुर भन्सार परिसरबाट ५० मिटर दुरीमा राजश्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएका कर्मचारीले सामानलाई अवैध भनी नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमामा राखी सो सामानको जाचपास गर्दा कुनै अनियमितता नदेखिएको भएता पनि राजश्वका कर्मचारीबाट सामान नछोडी व्यवसायीहरूलाई पटक पटक यस्तो खालको दुःख दिइरहेको हुँदा यस्ता क्रियाकलापले व्यवसाय गरी जीविका उपार्जन गर्दै आइरहेका हामी निम्न वर्गका व्यवसायीहरूलाई व्यवसाय गर्ने वातावरण र सहजीकरण व्यवसाय गरी खाने व्यवस्था मिलाइदिनु पर्ने उल्लेख छ । राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भद्रपुर भन्सार कार्यालयबाट राजश्व तिरेर निस्किएको अंशु इन्टरप्राइजेज बिर्तामोडको फर्ममा भद्रपुरका कपडा व्यापारी रायाको दुई पोका कपडा बुधवार दिउँसो ४ बजे नियन्त्रणमा लिएको थियो ।
राजश्वका अनुसन्धान अधिकृत रमेश ओझासहित टोलीले त्यसपछि वडा प्रहरी कार्यालय लगेर सामानको परिणाम गणना ग¥यो । सामान गन्दा भन्सारमा राजश्व तिरेको प्रज्ञापन पत्र भन्दा कम सामान भेटियो । गणना गर्दा पोकामा २५२ पिस रेडिमेट सर्ट र कटराइजको ज्याकेट ८० पिस भेटियो । व्यापारी रायाले भन्सारमा २५० पिस रेडिमेट सर्टको ३२ हजार ८३९ रुपैयाँ र ९० पिस ज्याकेटको ३३ हजार ३२ रुपैयाँ राजश्व तिरेको प्रज्ञापन पत्रमा उल्लेख छ । उनले जम्मा दुई पोकाको ६६ हजार ३२ रुपैयाँ भन्सारलाई राजश्व बुझाएको प्रज्ञापन पत्रमा देखिन्छ । सामान ठिक हुँदा हुँदै पनि राजश्वले नछाडेपछि विवाद उत्पन्न भएको हो ।