२०७८ आश्विन ७ गते , विहीवार

चीनसँग जोडिएको उत्तरी नाकामा अझै अवरोध

चीनसँग जोडिएको उत्तरी नाकामा अझै अवरोध :: Times of Pradesh
(लीला आचार्य) बिर्तामोड । २०७२ सालको विनाशकारी भूकम्प पश्चात् अवरोध भएको चीनसँगको उत्तरी नाकाहरू चीन सरकारको असहयोगको कारण अझै सहज बन्न सकेको छैन । चीनले कोरोनाको प्रभाव देखाएर ल्हासा गोदाम र विभिन्न स्थल मार्गमा थन्किएका नेपालीहरूले आयात गरेको सामानमा लगाएको प्रतिबन्धका कारण व्यवसायीहरू थप मारमा परेका छन् । रसुवागडी र तातोपानी नाकाको स्थल मार्गमै दिनदिनै अवरोध हुन थालेपछि नेपाली व्यवसायीहरूले भारतको बाटो भएर दक्षिणी नाकाबाट व्यवसाय गर्न बाध्य भएका छन् ।
सामान आयातमा असहज एकातिर छदैछ । नेपाल चीन व्यवसायमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै आइरहेका नेपाली व्यवसायीलाई कोरोनाको कारण देखाउँदै चीन प्रवेशमा नै रोक लगाइएको छ । यसबाट नेपाली व्यवसायीहरूले माग अनुसारको सामानहरू अर्डर गर्न पनि सकिरहेका छैनन् । पछिल्लो समय नेपाली व्यवसायीहरूले आफै चीन गएर सामान अर्डर गर्ने र अर्डर गरेका सामान छुटाउँदै आइरहेका थिए । तर, अहिले चीनको प्रतिबन्धका कारण चीन प्रवेश गर्न असहज भएपछि अघिल्लो वर्ष अर्डर गरेका सामान पनि ल्याउन सकिरहेका छैनन् ।
यसबाट नेपाली व्यवसायीले करोडौँ नोक्सानी व्यहोर्नु परिरहेको छ । समयमा अर्डर गरेका सामान नआउँदा बिक्री नहुने समस्या भोगिइरहेका छन् । चीनको मुख्य व्यापारिक स्थल ग्वान्जाउ, इउल लगायत व्यापारिक स्थलबाट स्थल मार्गबाट १२ दिनमा नेपाल भित्रिने सामान जल मार्गबाट ल्याउँदा ४० दिन लाग्ने र मौसम अनुसारका सामान समयमा आई नपुग्दा सामान बिक्री नहुने समस्या व्यापारीहरूले व्यहोरिरहेका छन् ।
कुनै पनि सामान बजारमा ल्याउनुभन्दा तीन महिना अगाडि नै अर्डर गरी सक्नुपर्ने अवस्था छ । यस्तो परिस्थितिले सामान बिक्री हुनु अगाडि नै व्यापारीहरूले करोडौँ रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । नेपाली व्यवसायीहरूले खरिद गरेको सामान उत्तरी नाकाबाट सहज रुपमा आयात गर्न नपाउँदा व्यवसायीहरूलाई अर्बौँ रुपैयाँ नोक्सानी भएको व्यवसायीहरू बताउँछन् । चिनिया अधिकारीहरूले रसुवागढी र केरुङ नाकाबाट दैनिक पाँचदेखि छ कन्टेनर मात्र सामान नेपाल पठाउने नीतिलाई निरन्तरता दिएपछि व्यवसायीहरू चीनसँग रुष्ट भएका छ । चीनको अवरोधका कारण स्थल मार्गको झन्झट कहिले सहज नहुने भएपछि व्यवसायीहरूले दक्षिण नाका प्रयोग गर्न थालेका छन् । व्यवसायीहरूका अनुसार चिनिया अधिकारीहरूले तातोपानी र रसुवागढी नाकामा गरेको असहयोगको कारणले एक वर्षअघि खरिद गरिएका सामानहरू अझै ल्हासा गोदाममा थन्किएका छन् ।
सीमामा चिनिया अधिकारीहरूले कन्टेनर अभाव देखाउने, ढुवानी भाडा बढाउने, दैनिक सीमित परिमाण मात्र   सामान नेपाल भित्र्याउन दिने रणनीति अपनाएपछि नेपाली व्यवसायीहरू मारमा परेका छन् । हाल पनि तातोपानी र रसुवागढी नाकाबाट दैनिक चारदेखि पाँच कन्टेनर मात्र सामान चिनिया पक्षले छोड्ने गरेको छ । व्यवसायीहरूले उत्तरी सीमामा चिनिया अधिकारीहरूको असहयोगको कारणले नेपाली व्यवसायी मारमा परिरहेका छन् । सहज परिस्थिति हुँदा पनि आफूले खरिद गरेको सामान ल्याउन चिनिया पक्षले अवरोध गर्ने गरेको व्यवसायीहरू बताउँछन् । सरकारी तहबाट नै गरिएको अनुरोधलाई समेत चिनिया पक्षले बेवास्ता गर्दै सिमाना अझ असहयोग गरिरहेको व्यवसायीहरू बताउँछन् । केरुङ र ल्हासामा थन्किएका केही सामान नेपाल भित्रिए पनि अझै धेरै कन्टेनर सिमाना नै अड्किएका छन् ।
उत्तरी नाकामा भएको असहयोग र असहजताको कारणले गर्दा व्यापारीहरूले दक्षिणी नाका हुँदै जलमार्गबाट सामान आयात गरिरहेका छन् । चीनले बाढी पहिरो, भूकम्प र कोरोनाको कारण देखाउँदै नाकामा असहयोग गर्दै आइरहेको छ । सहज रुपमा चीन प्रवेशमा समेत अवरोध सिर्जना गरेका चिनिया अधिकारीले लामो समयसम्म नाकामा गरेको अवरोधका कारण नेपाली व्यवसायीहरूले अर्बौँ रुपैयाँ घाटा व्यहोर्नु परेको व्यवायीहरुको गुनासो छ । चिनिया पक्षको असहयोग र झन्झटिलो प्रक्रियाले गर्दा चीनसँगको व्यापारमा खासै उपलब्धि हुन सकेको छैन । त्यही कारणले चीनसँगको व्यापार घाटा बढेर गइरहेको व्यवसायीहरू बताउँछन् ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment