परिवार र छोरी

जिनत शेख । हाम्रो समुदायमा केही घर परिवार यस्ता पनि छन् जहाँ छोरी १८-१९ वर्ष हुने बित्तिकै बिहे गर्दिन्छन् । जब कि छोरीको त्यो उमेर भनेको आफू भित्र भई रहेको नवपरिवर्तन बारे बुझ्ने र आफू लाई बुझ्ने उमेर हो। यस्तो उमेरमा प्रायजसो छोरीहरु लाई कसैले बुझिदिने, त्यस्तो वातावरण जहाँ उसलाई सहयोग र समर्थन गर्ने मित्र वा समुदाय को खोजी हुन्छ। यस्तो अवस्था सिर्जना गर्ने पनि परिवार नै हुन्छन्। किनकि जब मानिसलाई आफन्तले बुझ्दैनन् तब मानिस आफूलाई बुझ्ने सहारा दिने मित्रको खोजी गर्छन्।
आफ्नो छोरीलाई बुझ्ने परिवारका छोरीहरू कहिले आत्महत्या गर्दैनन्, कहिले घर छोडेर भाग्दैनन्, कहिले कुनै गलत कार्यमा संलग्न हुँदैन। किन कि उनीहरूलाई आफ्नो परिवार आफ्नो बाबु आफ्नो आमाको चिन्ता हुन्छ र उनीहरू कुनै गलत कदम उठाउनु भन्दा पहिले आफ्नो परिवारको इज्जत, आफ्नो आमा बाबुको बारेमा सोँच्छन्। अनि उनीहरूको आँखा अगाडि ती सबै समयहरु याद आउँछन् जब उनीलाई दुःख पर्दा उनलाई बुझ्ने बाबा र आमा कति दुःखी हुन्थे, उनीलाई सम्झाउँथेँ गलत कार्य गरे बापत कुट्दैन थे, मायाले सम्झौथे बुझाउँथे अनि यी सबै याद आएपछि उनी ती वर्तमानमा गर्न लागेको गलत कदमलाई त्यही रोक्ने गर्छन्।
आफ्नो छोरीलाई नबुझ्ने परिवारका छोरीहरु सजिलै आत्महत्या गर्छन्, घर छोडेर भाग्छन्, र सजिलै गलत कार्यमा संलग्न हुन्छन्। किनकि उनीहरूलाई आफ्नो परिवार आफ्नो बाबु आमा कसैको कुनै चिन्ता हुँदैन। किन कि उसलाई त्यहाँ घरको बोझ सरह व्यवहार गरिन्छ, गाली गरिन्छ, कुटिन्छ, पढ्न दिइँदैन, घरबाट बाहिर निस्किन दिइँदैन, र कम उमेरमै विवाहको दवाव दिइन्छ। त्यसैले उनीहरू कुनै पनि गलत कदम सजिलै उचाल्छन्। उनीहरूलाई घर छोडेर भाग्दा आफू कुनै पिँजडाबाट आजाद भए झैं महसुस हुन्छ। सुगाको लागि सिंगो आकाश खाली हुन्छ तर उसलाई कैद गरेर राखिन्छ, किन ? आफ्नो स्वार्थको लागि ती चरी लाई पिन्जरामा कैद गरेर राखिन्छ। र त्यो चरी आफू आजाद हुने हजार उपाय खोज्छन् तर कोही त्यही पिन्जारा मै मर्छन कोही पिंजरा तोडेर भए पनि उड्छन्। यस्ता परिवारमा छोरीहरूको हालत पनि यस्तै सुगा जस्तो हुन्छ।
जहाँ आफ्नो मनले न त लगाउन सकिन्छ, न त बोल्न पाइन्छ, न त पढ्न सकिन्छ, न त घुम्न सकिन्छ। र पछि विवाह पनि त्यस्तै घर मा गराउँछन् जहाँ आफू जस्तै कडा होस्, घर बात बाहिर जान नपाउने, लाउन न पाउने। हाम्रो समाजमा छोरी हुने बित्तिकै उसको दाइजो को लागि समानहरु एक-एक गरी किन्न थालिन्छ। उसको विवाहको लागि बैङ्कम खाता खोलिन्छ। र बैँकले पनि त्यो पैसा नानी १९ वर्ष पूरा भएपछि मात्र फिर्ता गर्छ। र त्यो एकमुष्ट रकम १९ वर्षीय युवतीलाई विवाहको लागि ब्याज सहित फिर्ता गरिन्छ। त्यो पैसा छोरीको शिक्षामा लगाउँदा हुँदैन र ? यदि त्यही पैसाबाट उच्च शिक्षा प्रदान गरियो भने त्यो १९ वर्ष सम्म जम्मा गरेको रकम १-२ वर्ष मा नै छोरीले कमाउने छिन्।
आफ्नो छोरीलाई यति धेरै मायाँ गर्नुस् कि उसलाई कुनै पनि गलत कदम उठाउन गाह्रो होस्। बुझ्ने प्रयास गर्नुस्, जति धेरै पढ्न खोज्छ पढाउनुस्, कम उमेरमा विवाह नगराउनुस्। उमेर पुगेपछि मात्र विहेको कुरा घरमा निकाल्नुस्। विवाहको कुरा सुनेर कोई छोरीको दुःखले आँखा रसाउँछ भने कोई छोरी दुःख को आँसु लुकाउँछ। छोरीलाई बुझ्नुस्, छोरी बोझ होइन। दुःखको बेला साथ दिने त्यही छोरी नै हुन्छ। छोरीलाई पिंजरामा बन्द गरिएको सुगा जस्तै न राख्नुस्।