२०८२ बैशाख ९ गते , मंगलबार
बिर्तामोडका विद्यालय असोज ४ गतेदेखि खुलाउने निर्णय

झापा । बिर्तामोड नगरपालिका भित्र रहेका विद्यालयहरूले आगामी असोज ४ गते देखि भौतिक रुपमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप गर्न पाउने भएका छन् । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार सिवाकोटीको अध्यक्षतामा आइतबार बसेको नगर शिक्षा समितिको बैठकले सबै विद्यालयहरूलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड,विद्यार्थी सिकाई सहजीकरण कार्य ढाँचा २०७७ र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको निर्देशिका पूर्ण रुपमा पालना गरी विद्यालयहरूको भौतिक रुपमा प्रत्यक्ष पठन पाठन गराउन निर्देशन दिने निर्णय गरेको हो ।
बैठकले सामुदायिक विद्यालयहरूले शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न अभिभावक भेलाबाट स्वीकृत भएको अभिभावक सहयोग बाहेकका अन्य कुनै पनि प्रकारको शुल्क नउठाउन निर्देशन दिने निर्णय गरेको छ ।यस्तै संस्थागत विद्यालयहरूले आफूले लिने शुल्क र अन्य आम्दानी र खर्चको सम्पूर्ण लेखा स्रेस्ता राखी खर्च र आम्दानीको विवरण तयार गरी सम्बन्धित संस्थाहरूसँग छलफल गर्ने गराउने निर्णय गरेको छ । बैठकले सबै विद्यालयहरूलाई पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरबाट स्वीकृत पाठ्यपुस्तक,सन्दर्भ सामाग्री बाहेकका कुनै पनि सामाग्रीहरू पठनपाठन नगराउन निर्देशन दिन पनि निर्णय गरेको छ ।
यस्तै आइतबारको बैठकले आचरण सचेतना शिक्षाको कक्षा १–२को पाठ्यक्रम र पाठ्यपुस्तकको सम्बन्धमा गत वर्ष २०७७ मा निर्माण गरिएको समितिलाई निरन्तरता दिने र उक्त समितिले आवश्यकता अनुसार विज्ञ सदस्य थप गरी कार्य गर्ने र कक्षा १ र २को पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण साथै कक्षा ३ देखि ८ सम्मको पुनरावलोकनको कार्य समेत गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको छ ।नगर शिक्षा समितिको बैठकले विद्यालयहरूमा प्रत्यक्ष सिकाई सञ्चालन सुरु भएपछि शिक्षा,युवा तथा खेलकुद शाखाबाट अनुगमन गरी प्रतिवेदन पेस गर्ने समेत निर्णय गरेको हो ।
विद्यालयहरूमा कोभिड –१९को महामारीको कारण लामो समयदेखि प्रत्यक्ष रुपमा हुने पठन पाठन ठप्प रहेको छ ।पछिल्ला दिनहरूमा सङ्क्रमितको सङ्ख्या घट्दै गएका कारण स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खुलाउन लागिएको बिर्तामोडका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिनु भयो ।
बैठकमा नगरप्रमुख ध्रुवकुमार सिवाकोटी,उपप्रमुख पवित्रा महतरा प्रसाईँ,प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल,शिक्षा शाखा प्रमुख तथा उपसचिव तिलचन भण्डारी,समितिका सदस्य गुरुभक्त न्यौपाने,कृष्णप्रसाद पाठक,युवराज कट्टेल,निता घतानी,द्रौपदी गणेश,सङ्गीता सिवा,शाखा अधिकृत देवराज कार्की,दिनेश प्रसाद आचार्य र कर्मचारी मित्रलाल ओलीको उपस्थिति रहेको थियो ।