२०८१ माघ २७ गते , आईतबार
पारसको क्यारिकेचर गरेका भरतमणि पौडेललाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत

झापा । कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी 'सो कमेडी च्याम्पियन सिजन- २' को फाइनलमा पुगेका ताप्लेजुङका भरतमणि पौडेल आज झापा हुँदै आफ्नो गृह जिल्लातर्फ लागेका छन् ।
दर्शकहरूको साथ सहयोग र हौसलाले उत्साहित बनेका पौडेल काठमाडौँबाट बिहान करिब ९ बजे चन्द्रगढी विमानस्थल हुँदै झापा आएका हुन् । उनी आउनु अघिदेखि ताप्लेजुङ , पाँचथर, इलाम र झापाका सयौँ समर्थकहरू उनको स्वागतका लागि विमानस्थल पुगेका थिए । दमकबाट भरतमणि जिताऔँ अभियानमा सक्रिय थरेन पौडेलको नेतृत्वमा युवाहरू त्यसतर्फ गएका थिए ।
उनीहरूले नारासहित चन्द्रगढी र बिर्तामोडका केही भाग परिक्रमा गर्दै भोटका लागि आव्हान गरेका थिए । उनको स्वागतमा ताप्लेजुङ झापा सम्पर्क मञ्च, रेड स्टार फुटबल क्लब, हेल्पिङ हेन्डस्लगायत आधा दर्जन बढी संघसंस्थाहरुको बिर्तामोडको सिटी सेन्टरमा कार्यक्रम आयोजना गरेका थिए ।
त्यहाँ आयोजित कार्यक्रममा प्रतिस्पर्धी भरतमणिसँगै यसअघि सो प्रतिस्पर्धामा रहेका स्याङ्जाका विकास अर्याल पनि सहभागी भएका थिए । भरतमणिले सो अवसरमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व मन्त्री गोकुल बास्कोटाको नक्कल गरेर दर्शकहरूलाई हँसाएका थिए ।
कार्यक्रममा फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले भरतमणि अब ताप्लेजुङको मात्रै नभएर देशकै गहना भएको चर्चा गर्दै उनलाई राष्ट्रिय स्तरको सो प्रतिस्पर्धामा सर्वोत्कृष्ट बनाउन सबैको साथ, सहयोग र हौसला आवश्यक भएको भन्दै भोटका लागि अपिल गरे । भरतमणिलाई आफ्नो मोबाइलमा प्रभु पे एप्स डाउनलोड गरेर मोबाइल मार्फत भोट गर्न सकिनेछ । उनको कोड ३ रहेको छ । पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फाइनलमा प्रवेश गरेका छन्।