यी अभिनेत्रीमाथि ५ अर्ब ३७ करोड रुपैयाँ जरिवाना, सबै कार्यक्रममाथि रोक

एजेन्सी । चीनकी फिल्म तथा टेलिभिजन अभिनेत्री झेंग शुआंगले ४६ मिलियन डलर ९५ अर्ब ३७ करोड नेपाली रुपैयाँ० जरिवाना तिर्नुपर्ने भएको छ । उनीमाथि कर छलीको आरोपमा यति ठूलो रकम जरिवाना लगाइएको हो । झेंगका रेडियो र टेलिभिजनमा प्रसारण हुने सबै कार्यक्रममा रोक लगाइएको छ ।
शांघाइ म्युनिसिपल ट्याक्स सर्भिसले अभिनेत्रीमाथि २०१९ र २०२० मा फिल्म र टेलिभिजनबाट भएको अघोषित कमाइमा यो जरिवाना लगाएको हो । चीनको सरकारले हालै गरिब र धनीको बीचको खाडल कम गर्न भन्दै कर नीतिमा व्यापक परिवर्तन गरेको छ । सरकारले नागरिकको आयको असमानता, बढ्दो ऋणको स्तरलाई मध्यनजर गर्दै यसअघि पनि अलीबाबा जस्ता कैयौं शीर्ष कम्पनीहरुमाथि अभूतपूर्व कारवाही गरिसकेको छ ।
ग्लोबल टाइम्सका अनुसार राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले अभिनेत्रीका ती सबै कार्यक्रममा रोक लगाउने घोषणा गरेको छ जसमा उनले अभिनय गरेकी छिन् । अभिनेत्री झेंगमाथि अमेरिकामा २ सेरोगेट बच्चाहरु छोडेको आरोप समेत लागेको थियो । यो आरोपमा पनि उनी जनताको आलोचनाको शिकार भइसकेकी छिन् ।
३० वर्षकी झेंगका २ सन्तान छन् । उनलाई सबैभन्दा कम उमेरमा टिभी गोल्डेन इगल पुरस्कारमा सर्वोत्कृष्ट अभिनेत्री अवार्डको लागि मनोनित गरिएको थियो । २०१६ मा उनले सुपरहिट रोमान्स कमेडी ड्रामा लभ ०२० मा अभिनय गरेकी थियन् । २००९ मा उनले हुनान टिभीको ताइवानी सिरियल मेटियोर गार्डनको रिमेकबाट अभिनय सुरु गरेकी थिइन् । चीनमा यो निकै लोकप्रिय भएको थियो । यसबाहेक उनले हङकङ फिल्म डाइरेक्टर्स गिल्ड अवार्डमा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जितेकी छिन् । डिसी नेपालबाट