नेवि संघ र अखिल क्रान्तिकारीको चेतावनी : विद्यालयमा शुल्क नबढाऊ
झापा । नेपाल विद्यार्थी संघ झापा र अनेरास्ववियु क्रान्तिकारी झापाले कोरोना महामारीका बेला शुल्क नबढाउन निजी विद्यालयलाई चेतावनी दिएका छन्। प्याब्सन र एन–प्याब्सनमा आबद्ध निजी विद्यालयले प्रत्येक वर्ष शुल्क बढाउने गरेका छन्।
नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै कोरोना महामारीमा शुल्क वृद्धि नगर्न र अनलाइन कक्षाको शुल्क गत शैक्षिक सत्रको शुल्कभन्दा ५० प्रतिशत बढी नलिन चेतावनी दिएका हुन्। कोरोनाका कारण अभिभावक कठिनाइमा रहेको बेलामा निजी विद्यालयले शुल्क बढाउँदा प्रत्यक्ष मार अभिभावकमा पर्ने उनीहरूले उल्लेख गरेका छन्।
दुई वर्षदेखि विश्वभरि फैलिएको कोरोना महामारीबाट देशको शैक्षिक क्षेत्र सबभन्दा बढी प्रभावित र अस्तव्यस्त अवस्थामा छ। लामो समयदेखि विद्यार्थीहरू नियमित शैक्षिक क्रियाकलापमा सहभागी बन्न नपाइरहेकाले शैक्षिक स्तर र सिकाइ उपलब्धीमा गम्भीर असर परेको छ।
यस्तो परिस्थितिमा शैक्षिक क्रियाकलाप निरन्तरता दिने बहानामा झापाका कतिपय सामुदायिक एवं निजी विद्यालय र क्याम्पसले अभिभावकसँग चर्को शुल्क असुलीरहेका छन्। विद्यार्थी र अभिभावकबाट आएको चर्को गुनासोमा गम्भीर ध्यानाकर्षण भएको विद्यार्थी संगठनको विज्ञप्तिमा उल्लेख छ।
कतिपय विद्यालय तथा क्याम्पसले कोभिड १९ संक्रमणका कारण प्रत्यक्ष शिक्षण सिकाइ सञ्चालन हुन नसकिरहेको वर्तमान परिवेशमा पनि सामान्य अवस्थामा झैँ शुल्क असुलीरहेको तथा चालू शैक्षिक सत्रमा शुल्क वृद्धि गरेको समेत पाइएकोले त्यस्तो कार्य तुरुन्त बन्द गर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ।
नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेती र अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष अनिल सुवेदीले आफूहरूको आग्रहलाई निजी विद्यालयले बेवास्ता गर्ने प्रयत्न गरे कठोर आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।