२०८२ बैशाख १६ गते , मंगलबार

मिर्गौला प्रत्यारोपणको पखाइमा भद्रपुरका दुई शिक्षक, सङ्कलित सहयोग रकम हस्तान्तरण

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २ गते , बुधबार
मिर्गौला प्रत्यारोपणको पखाइमा भद्रपुरका दुई शिक्षक, सङ्कलित सहयोग रकम हस्तान्तरण

भद्रपुर । मिर्गौला प्रत्यारोपणको पखाइमा बसेका भद्रपुरका दुई शिक्षकलाई सहयोग रकम जुट्न थालेको छ । भद्रपुर उच्च माविका शिक्षक मोहम्मद बदरूद्दिन र वीरेन्द्र उच्च माविका शिक्षक गीताकुमारी भण्डारीको दुवै मिर्गौला खराब भएपछि उनीहरू अहिले मिर्गौला प्रत्यारोपणको पखाइमा बसेका छन् । नेपालमा कानुनी जटिलताले भारत गएर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि धेरै खर्च लाग्ने भएपछि उनीहरूको उपचारका लागि सहयोग जुट्न थालेको हो ।

यसै क्रममा भद्रपुरका शिक्षकद्धय अनिता रिजाल र जयिता रायले उनीहरूको उपचारका लागि थोरै भए पनि सहयोग रकम जुटाएको छ । शिक्षकद्धय रिजाल र रायले विभिन्न व्यक्तिहरूबाट ६० हजार ५०२ रुपैयाँ रकम सङ्कलन गरी मिर्गौला पीडित शिक्षकद्धयलाई घरमै पुगेर रकम हस्तान्तरण गरेको छ । शिक्षक बदरूद्दिनलाई ३० हजार २५१ रुपैयाँ र शिक्षक भण्डारीलाई ३० हजार २५१ रुपैयाँ प्रदान गरिएको शिक्षक रिजालले जानकारी दिइन् । 'लामो समयदेखि मिर्गौला रोगबाट ग्रसित बनेका उनीहरूका परिवारजनले उपचार खर्च धान्न नसक्ने अवस्थामा पुगेपछि परिवारजनकै आग्रह बमोजिम हामीले रकम सङ्कलन अभियानमा जुटेका थियौँ, ' शिक्षक रिजाल भनिन् । 


यता शिक्षकद्धय रिजाल र रायले मिर्गौला पीडित शिक्षकद्धयको सहयोग रकम जुटाउन थालेपछि शिक्षक महासंघ भद्रपुर नगर समितिको गम्भीर ध्यानाकर्षण भएको थियो । महासङ्घले गर्नुपर्ने काम शिक्षकद्धयले गर्न थालेको थाहा पाएपछि त्यसपछि महासङ्घले विज्ञप्ति निकाल्दै सबैलाई सहयोगको लागि अपिल गरेका थिए । कुनै पनि शिक्षक जटिल रोगका कारण बिरामी परेमा बेलैमा शिक्षक महासङ्घले सहयोगका लागि अपिल गर्नुपर्ने अहिलेको परिस्थितिले देखाएको रिजालले बताइन् । 

दुवै मिर्गौला खराब भएपछि सङ्घर्षपूर्ण जीवन बिताइरहेका शिक्षकद्वयले मिर्गौला भेट्न गाह्रो, भेटिए पनि प्रत्यारोपण गर्न कानुनी अड्चनले थप समस्या भोग्दै आएका छन् । मिर्गौला प्रत्यारोपण गर्न परिवारभित्रै सदस्य चाहिने कानुनी प्रावधान अनुसार बदरूद्दिनलाई उनकी श्रीमती असमति बेगमले मिर्गौला दिन खोज्दा उनको शरीरमा एउटा मात्र मिर्गौला भएको खुलासा भएपछि  प्रत्यारोपण गर्ने मिर्गौला नपाएर परिवारजन थप चिन्तामा परेको छ । त्यस्तै शिक्षक भण्डारीको पीडा पनि कम जटिल छैन । उनले पाएको दाताबाट देशमै मिर्गौला प्रत्यारोपण गराउन खोज्दा कानुन नै बाधक बनेपछि उनी भारतको दिल्ली जानु पर्ने भएको छ । देश बाहिर मिर्गौला प्रत्यारोपण गर्न जाँदा खर्च बढी लाग्ने भएपछि उनका परिवार पनि थप समस्या परेको छ । 


सम्बन्धित समाचार