वारिपारि बिरानो सहर
काँकडभिट्टा । साताका २-४ दिन उनी सीमापारि पुगेकै हुन्थे । मेचीनगर–७ का ७० वर्षीय नारायण राईको किनमेलको गन्तव्य थियो, मेचीपारिको भारतीय बजार पानीट्यांकी । यो बजार पुरानो हाट नक्सलबारीभन्दा निकैपछि खुलेको हो । राई बस्ने ‘दशगजाको गाउँ’ भान्सा खोलाबाट पारि तर्न खासै समय लाग्दैन । आधा किलोमिटर दूरीको यो बजार हिउँदमा खोला तरेरै पुगिन्छ । आँखै अगाडि देखिने पानीट्यांकी बजार अहिले राईका लागि बिरानो सहरझैं छ ।
‘देखिनलाई त घरैबाट देखिन्छ पानीट्यांकी बजार,’ उनी भन्छन्, ‘तर के गर्नु, त्यता पाइला नटेकेको पनि डेढ वर्ष भयो । अहिले त बिरानो सहरजस्तो पो लाग्न थाल्यो ।’ मेची तर्नेबित्तिकै दार्जिलिङ जिल्लामा पुगिन्छ । यही जिल्लाको खोरीबारी गाउँ पञ्चायतमा पर्ने बजारुजोतका ५० वर्षीय श्याम बर्मनको दैनिकी पनि बिथोलिएको छ । सधैं साइकल हाँकेर वारि काँकडभिट्टा आइपुग्थे । पेसाले काठ मिस्त्री उनले आफ्नो शिल्पले धेरै नेपालीका घर–दलान सिँगारेका छन् । कोरोनाले सीमा बन्द भएपछि उनले पनि नेपाल छिर्न पाएका छैनन् । काठको कामबाटै परिवार पालेका उनको परिवार यतिबेला जसोतसो भरथेगमा छ । ‘नेपालीहरूको सेवा (काम) गरेरै मैले परिवार पाल्दै आएको थिएँ,’ बर्मनले फोनमा भने, ‘अहिले पनि पारि (नेपाल) बाट बोलावट भइरहेको छ तर छिर्न पाएको छैन ।’ सरकारले २०७६ चैत ११ देखि नाका सिलसँगै लकडाउन घोषणा गर्यो । केही समयपछि लकडाउन हटाइए पनि नाका बन्द जारी छ । बन्दकै बीच गत वैशाख ८ पछि भारतीय नागरिकको प्रवेशलाई पूर्ण रूपमा निषेध गरियो । त्यसपछि त झन् बर्मनले नेपाल छिर्ने आस नै मारे ।
झापाको तिरिङदेखि गौरीगन्जसम्म करिब १ सय ४४ किलोमिटर खुला सीमा छ । जहाँ वारिका राई र पारिका बर्मनको जस्तै हजारौंको कथा छन् । झापा भद्रपुर–३ मा पर्ने मेचीपारिको डोलो बस्तीकी ४० वर्षीया नरमाया राजवंशीलाई भने परिवार पाल्न गाह्रो भएको छ । पारिबाट किनमेल गरी ल्याएको सामान बेचेर परिवार पाल्दै आएकी उनलाई नाका बन्दले सकस परेको छ । ‘मेची तरेर भद्रपुरतिर पनि जान सक्ने अवस्था भएन,’ उनले भनिन्, ‘भद्रपुरभन्दा पारिकै बजार हामीलाई सस्तो र सुलभ पर्छ ।’ सीमावर्ती गाउँबाट अलि पर मेचीनगर–३ बडाखालका ५० वर्षीय खड्ग धिमालले भने साथीभाइसँग मिलेर सामूहिक खेती सुरु गरेका छन् । नाका बन्द भएपछि जमिन हुनेले खेती गरे, नहुनेले भाडामा लिएर तरकारी तथा अन्नबाली फलाउन थालेका छन् ।
सीमाका बासिन्दाले फाइदा र नोक्सान दुवै व्यहोर्दै आएका छन् । तर कोरोनाले गर्दा फाइदा भयो भन्ने धेरैको मत छ । रोजगारी, अध्ययन, किनमेलदेखि स्वास्थ्योपचार, मनोरञ्जन लगायतका काममा नेपाली भारत जान्छन् । त्यो क्रम अहिले ठप्प छ । जसले ठूलो धनराशि बाहिरिन रोकिएको अनुमान छ । ‘नेपाली पैसा बाहिरिन जसरी कम भएको भन्ने छ, भित्रिने क्रम पनि घट्दो रहेको अनुमान गर्न गाह्रो छैन,’ मेची उद्योग वाणिज्य संघका सदस्य सन्दीप ओली भन्छन्, ‘कोरोनापछि भारतमा काम गर्ने धेरै नेपाली श्रमिकको रोजगारी खोसिएको छ, यसो हुनु भनेको नेपाल भित्रिने पैसा घट्नु पनि हो ।’
नाका बन्दले सीमावासीको सम्बन्ध नै विच्छेदजस्तै भइदिएको छ । नेपाल–भारतबीच व्यापारिक या आर्थिक सम्बन्ध जति धेरै छ, पारिवारिक–सांस्कृतिक सम्बन्ध त्यति नै गाढा छ । झापा जिल्ला ट्राभल एजेन्ट संघका अध्यक्ष नीरबहादुर कार्कीको पारिवारिक सम्बन्धको डोरो पूर्वोत्तर भारतको असमसम्म छ । मेचीपारिको पानीट्यांकी बजारमा उनका दिदी–भिनाजु छन् । तर कोरोनाका कारण आउजाउ ठप्प छ । कार्की भन्छन्, ‘पोहोरको तीजमा पनि दिदीलाई बोलाउन सकिएन, यस पटक पनि बोलाउने अवस्था छैन ।’
काँकडभिट्टा नजिकैको सतिघट्टा नाका विगतमा गोरु तस्करीका लागि चर्चित थियो । अहिले चाहिँ भारतबाट हुने मालजन्य वस्तुको तस्करीका लागि चिनिन्छ । तर भद्रपुरकै मेचीपारिबाट तस्करी हुने गरेको छ । यो नाकामा जनप्रतिनिधिहरूकै संलग्नतामा अवैध गतिविधि हुने गरेको पाइएको छ ।
नेपाली सीमामा तैनाथ सुरक्षाकर्मी नै तस्करको कोरोनापछिको लकडाउनमा तारो बने । झापा, कचनकवल आदि गाउँपालिकानजिकको सीमा क्षेत्रमा उनीहरूमाथि सांघातिक आक्रमण नै भयो । आक्रमणको एउटा कारण तस्करी गर्न नपाएको झोक थियो । भारतीयको नेपालतिर र नेपालीको भारततिर खेतबारी छ । खेतबारीमा लगाएको अन्न लिन आउने र जाने क्रममा सुरक्षाकर्मीले अवरोध गरेपछि उनीहरूमाथि आक्रमण भएको हो । झापाका अधिकांश सीमावर्ती भूभागमा दुवैतर्फबाट खेती भइरहेको छ । कतिपय नाकामा सामान्य विवाद छ । कतै भने ‘व्यावहारिकता’ का आधारमा खेतीपाती चलिरहेको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले खुला नाकामा गतिविधि भइरहनाले सुरक्षा चुनौती रहेको बताए ।
झापाका विभिन्न नाका तस्करले प्रयोग गर्छन् । पूर्वोत्तरको बाहुनडाँगीदेखि दक्षिण–पश्चिमको गौरीगन्जसम्मका नाकाबाट तस्करी हुन्छ । सुपारी, छोकडा, मरिच, केराउ, स्याउ, ओखरसँगै गाईगोरु पनि भारततर्फ तस्करी हुन्छ । नेपाल–भारतबीचको खुला सीमा अवाञ्छित तत्त्वले हदैसम्म दुरुपयोग र विकृत बनाएको सीमाविद् बुद्धिनारायण श्रेष्ठले तर्क गरे । ‘विभिन्न स्वार्थ समूहले खुला सीमाको फाइदा उठाउने गरेका छन्,’ श्रेष्ठले भने, ‘यो हाम्रा लागि गम्भीर सुरक्षा चुनौती हो ।’ कान्तिपुर दैनिकबाट साभार