आइपीएलको लिग चरण सकियो, क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को लिग चरणको आफ्नो अन्तिम खेलमा कोलकाता नाइटराइडर्सलाई ४० रनले पराजित गरेको छ। दिल्लीका लागि यो सान्त्वना जित हो। यो जितसँगै दिल्ली प्रतियोगिताबाट बाहिरिएको छ।
लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रनको बलियो योगफल खडा गरेको थियो। दिल्लीका लागि ओपनर केएल राहुलले ६० रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेलेका थिए।
२ सय ४ रनको ठूलो लक्ष्य पछ्याएको कोलकाताले खराब सुरुवात गरेको थियो। आक्रामक ब्याटिङ गर्ने प्रयासमा नियमित अन्तरालमा विकेट गुमाएको कोलकाता १८.४ ओभरमा मात्र १ सय ६३ रनमा अलआउट भयो।
कोलकाताको घरेलु मैदान इडेन गार्डेन्समा भएको खेलसँगै यसपल्टको प्रतियोगिताको लिग चरणका सम्पूर्ण खेल समाप्त भएका छन्। यससँगै उपाधि होडको प्ले–अफ समीकरण पनि पूरा भएको छ।
अब प्रतियोगिताको पहिलो क्वालिफायरमा भोलि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ। पहिलो क्वालिफायरको विजेता सिधै फाइनल पुग्नेछ।
बुधबार हुने इलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुनेछन्। इलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।