सनडाउन्स बन्यो अफ्रिकी च्याम्पियन्स लिग च्याम्पियन
दक्षिण अफ्रिकी क्लब मामेलोडी सनडाउन्सले दोस्रो पटक अफ्रिकी च्याम्पियन्स लिगको उपाधि जितेको छ। आइतबार राति भएको फाइनलको दोस्रो लेगमा मोरक्कोको एफएआर रबातसँग १–१ गोलको बराबरी खेल्दै सनडाउन्स समग्रमा २–१ को नतिजासहित च्याम्पियन बनेको हो।
आफ्नो जर्सीको रङका कारण द ब्राजिलियन्स’ उपनामले चिनिने दक्षिण अफ्रिकी टोली सनडाउन्सले यसअघि सन् २०१६ मा यो ट्रफी जितेको थियो। गत वर्ष भने टोली इजिप्टको क्लब पिरामिड्स एफसीसँग फाइनलमा पराजित भएको थियो।
पहिलो लेगमा १–० को अग्रता बनाएर मैदान उत्रिएको सनडाउन्सविरुद्ध घरेलु टोली एफएआर रबातले पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत खेल बराबरीमा ल्याएको थियो। सनडाउन्सका डिभाइन लुङ्गाले रेदा स्लिमलाई लडाएपछि पाएको पेनाल्टीलाई मोहमद हुरिमतले गोलमा परिणत गरेका थिए।
एफएआरले बराबरी गोल गरेको लगतै पहिलो हाफकै अतिरिक्त समयमा सनडाउन्सका तेबोहो मोकोएनाको प्रहार क्रसबारको तल्लो भागमा लाग्दै गोलमा परिणत भएपछि सनडाउन्सले खेलमा फेरि अग्रता लियो।
खेलको ७४औं मिनेटमा सनडाउन्सका गोलकिपर रोनवेन विलियम्सले युसेफ एल फहलीलाई लडाएपछि एफएआरले दोस्रो पटक पेनाल्टीको अवसर पाएको थियो। तर, विलियम्सले हुरिमतको प्रहारलाई उत्कृष्ट ढङ्गले बचाएको थियो।
मोरक्कन क्लब एफएआर रबातले सन् १९८५ मा यो प्रतिष्ठित उपाधि जितेको थियो। यस पटक घरेलु मैदानमा इतिहास दोहोर्याउने उसको सपना अधुरै रह्यो।