भद्रपुर मावि : विद्यालयको जमिनमा अरूकै मोज, जीर्ण भवन बनाउन रकम सङ्कलन !

झापा । एकातिर भद्रपुर माविको १७ विगाह १० कठ्ठा जग्गा विभिन्न व्यक्तिहरुले अतिक्रमण गरी मोज गरिरहेका छन् , अर्कोतिर विद्यालय भवन जीर्ण भइसकेको छ । भवन रंगरोकनका गर्नसमेत पैसा नभएर विद्यालय प्रशासनले हारगुहार गरिरहेको अत्यासलाग्दो अबस्था छ ।
यस विद्यालयबाट शिक्षा हासिल गरेका उल्लेखनीय संख्याका विद्यार्थीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रशासनिक , प्राबिधिक, राजनीतिक , सामाजिक ,शैक्षिक ,औद्योगिक,व्यापार व्यवसायलगायतका क्षेत्रहरुमा उच्च पदस्थ तथा सफल व्यक्तित्वका रुपमा स्थापित छन । २०१५ सालमा पहिलो तला र २०२६–०२७ मा दोस्रो तलाको निर्माण कार्य सम्पन्न भएको यस विद्यालयको ३२४ फिट लम्बाई, ३१ फिट चौडाई र २६.२५ फिट उचाईको २ तले मुख्य भवनमा एउटा सभा हल र २१.८३ वर्ग फिटको तल्लो तला आउटडोर स्टेज र माथिल्लो तलामा प्रधानाध्यापकको कार्यकक्ष रहेको संरचना छ । भवनका २१ वटा कोठा, सानाठूला गरी ७९ बढी झ्याल र २१ वटा ढोकाहरुमध्ये करिव ४५ प्रतिशत झ्याल र केही ढोकाहरु अत्यन्तै जीर्ण अवस्थामा पुगिसकेका छन् । आर्थिक अभावका कारण ती झ्यालढोका र भित्ताहरुको मर्मतसम्भार तथा रंगरोकनसमेत गर्न सकिएको छैन । २०७२ सालको विनासकारी भूकम्पको चपेटामा समेत परेको यो विद्यालय भवनको पुनर्निर्माणका लागि विद्यालयद्वारा विभिन्न निकायहरुमा पटकपटक पहल गरिएको भए तापनि हालसम्म कुनै पनि सरकारी तथा गैर सरकारी तहबाट सहयोग प्राप्त हुन नसकेको विद्यालयका प्रधानाध्यापक कुलबहादुर गुरुङ बताउँछन् । यो विद्यालय भवनका अधिकाँश कोठाहरु हालसम्म पनि प्रयोगको अवस्थामा नै छन् । अत्यन्तै गौरवशाली इतिहास रहेको यस विद्यालयको मुख्य भवन लगायतका भौतिक संरचनाहरुको संरक्षण , जिर्णोद्धार ,रंगरोकन तथा मर्मत सम्भार सम्बन्धी कार्यका लागि आर्थिक श्रोत नभएपछि स्रोत संकलन तथा परिचालन गर्न भद्रपुर माध्यमिक विद्यालयका पूर्व विद्यार्थी संघमा आवद्ध पूर्व विद्यार्थीहरुको विशेष सक्रियतामा , स्थानीय वुद्धिजीवी ,समाजसेवी तथा सरोकारवालाहरुसमेतको भेलाद्वारा पूर्व विद्यार्थी तथा प्रदेश सभा सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा ‘भद्रपुर माध्यमिक विद्यालय मर्मत सम्भार तथा सुधार समिति’ र पूर्व विद्यार्थी तथा झापा समाज, काठमाण्डौका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा मर्मत सम्भार तथा सुधार कार्यको निम्ति ‘आर्थिक स्रोत व्यवस्थापन समिति’ गठन गरिएको छ । विद्यालय भवनको जिर्णोद्धार तथा मर्मत सम्भारका लागि भद्रपुर नगरपालिकाका प्राबिधिकहरुद्वारा स्थलगत अवलोकन तथा अध्ययनको आधारमा तयार पारिएको लागत अनुमान अनुसार न्यूनतम रकम बीस लाख चौबिस हजार आठ सय छपन्न रुपैयाँ खर्च लाग्ने देखिएको छ । हालसम्म १२ लाखभन्दा बढी रकम संकलन भइसकेको छ । विद्यालय मर्मत सुधार समितिका अध्यक्ष तथा प्रदेश सांसद सरावगीले विद्यालय मर्मत सम्भारका लागि १लाख १हजार सहयोग गरेका छन् ।

पूर्व विद्यार्थीहरूको अग्रसरतामा स्रोत संकलन शुरू भएको यस अभियानमा बेलायतमा बस्ने पूर्व विद्यार्थी वालकेशर तामाङ र श्रीमती सुजाता राईले १लाख ७ हजार र झापा उद्योग संघका अध्यक्ष तथा समाजसेवी यामबहादुर श्रेष्ठले ५१ हजार सहयोग गरेका छन् ।
त्यसैगरी हाल अमेरिकामा रहेका सोही विद्यालयका पूर्व विद्यार्थीहरू केशव कार्कीबाट ५९हजार ५सय,गोपाल चौधरीबाट ४४हजार ६सय२५,डाक्टर शम्भु ढुंगाना र मुकुन्द ढुंगानाबाट जनही ३५हजार ७ सय , डाक्टर राजेन्द्र दुलाल,मोहन ओली, डम्बर बस्नेत र सुधिर अधिकारीबाट जनही ३०हजार ३ सय४५ रूपैयाँ प्राप्त भएको जनाइएको छ