२०८० मंसीर २० गते , बुधबार

लोकतन्त्रमा पञ्चायतको सम्झना

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २० गते , बुधबार
लोकतन्त्रमा पञ्चायतको सम्झना

रमेश ढकाल । यात्रा सुरु गरिसकेपछि पछाडि फर्कनुलाई त्यसै पनि शुभ मानिँदैन। तर यात्राका क्रममा कुनै बाधा आयो भने एक कदम पछाडि नै सरेर भए पनि बाधा पन्छाउनु पर्ने हुन्छ, अन्यथा यात्रा सहज हुन सक्दैन। यस अर्थमा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको सङ्घीयताका बारेमा आएको पछिल्लो टिप्पणीले सम्बन्धित सबैलाई बाटोमा देखिएको बाधा पन्छाउन र यात्रालाई सहज बनाउन सुझाएको छ। यसका लागि उनलाई गाली हैन धन्यवाद भन्नु पर्छ। उनले धन्यवाद पनि पाएका छन् तर हाम्रा कथित परिवर्तनकारी केही साथीभाइहरूको उनको जिब्रो नै थुतिदिने प्रतिक्रियाले भने पञ्चायतको याद मात्र दिलाएन लोकतन्त्रको खिल्ली पनि उडाएको छ।   

कुरा ४४ साल तिरको हुनु पर्छ। शुक्रवारको दिन, स्कुलको हाफ छुट्टी थियो। स्कुल छुटी भए सँगै म हाम्रो गोलधाप बजार पुगेको थिए। शायद आमाले केही किनमेलको काम लगाउनु भएको थियो। हिजोआज गोल धाप बजारको हाट कता लाग्छ थाहा भएन, तर अहिले सम्झँदा त्यतिखेरको हाट बजार सँग जोडिएको मूल बाटो देखी अलिक मास्तिर पटी साप डिग्री खोला तिर जाने बाटो तर्फ लाग्ने गर्थ्यो।

यो परिवर्तनका लागि कुनै एउटा पक्षले मात्र नभएर अधिकांश नेपाली जनताले आ–आफ्नो ठाउँ बाट धेरै सङ्घर्ष त्याग र बलिदान गरेका छन्। त्यसैले लोकतन्त्र तथा सङ्घीय व्यवस्थालाई कसैले आफ्नो बुवाले अंशमा दिएको निजी सम्पत्ति ठानेर गलत प्रयोग गरिरहँदा आम जनताहरू चाहिँ सधैँ मूकदर्शक भएर बस्ने कल्पना गर्नु ठुलो भुल हुनेछ।

किनमेलको लागि म हाटको बिचमै थिए, त्यही बेला अलिक अगाडि पटी एक हुल मान्छेहरूले एउटा निर्धो एक्लो मान्छेलाई लखेट्दै ल्याएको देखे। अलिक अग्लो कदको तर दुब्लो पातलो देखिने ती मान्छेले पातलो सेतो सट लगाएका थिए। उनी कुनै प्रतिरोध नगरी मान्छेहरूको त्यो हुलले ठेल्दै जता जता लैजान्थ्यो उतै उतै मोडिँदै गरेको देखिन्थे। म थोरै अघि बढेर अलिक निजीकै बाट उनलाई हेर्दा, ती मान्छे त मैले चिनेकै दाइ पो रहेछन्। उनलाई  ६–७ जना मान्छेको एउटा समूह (मैले चिनेकै बजारका दाइहरू) मिलेर पिट्दै थिए। ६–७ जना मिलेर ती निरीह एक्लो दाइ माथि तँ बामे होइन भन्दै उफ्रिँदै मुक्का बजारी रहेका थिए र ती दाइ भने आफू माथि भइरहेको अत्यचारलाइ चुपचाप सहन विवश थिए।  पछि कुरा बुझ्दा ती पिटाई खाने दाइ पञ्चायत विरोधी अथवा पञ्चायत विरुद्धको गतिविधिमा लागेको भनेर पञ्चायत पक्षधरको जमातले उनलाई पिटेको रहेछ। त्यो घटनाका कारण मेरो मनमा पञ्चायत व्यवस्था प्रति एउटा नराम्रो छाप बस्यो। 

यदि मेरो सम्झना सही भए, त्यतिखेर ती पिटाई खाने दाइको नाम हरि रेग्मी हुनुपर्छ। उनको घर शायद सपडिग्री खोला मास्तिर तिर थियो। त्यतिखेरका उनका सहपाठी केही दाइहरूलाई फेसबुक तिर देख्ने गर्छु तर ती दाइलाई भने अहिले सम्म देखेको छुइन। यी दाइलाई भेट्ने हो भने हाम्रो देशको अहिलेको परिवर्तित राजनीतिक अवस्थाका बारेमा उनको राय कस्तो रहेछ, सोध्ने थिए।    

खैर, त्यो घटना पछि साँच्चिकै सक्रिय रुपमा पञ्चायतका विरुद्ध लागियो। ४४ साल तिरकै कुरा हो हामी गोल धाप बजारमा ध्रुव दाइको पान पसल अगाडि थियौँ। हामीलाई पढाउने गुरु कपिल सर पनि त्यहीँ हुनुहुन्थ्यो। कता बाट पुलिस आएर सरलाई त्यहीँ पक्रिएर लग्यो। सरलाई घैलाडुबा ठाना लैजान हिँडाएर निक्कै पर पुर्‍याइ सकेको थियो। कपिल सर त्यसै पनि सानो चेडाको अलिक कमजोर नै देखिनु हुन्थ्यो। भरे राती जाडोले साह्रो पार्ला केही न्यानो लुगा पुर्‍याइ दिनु पर्छ भन्ने कुरा भयो। 

ध्रुव दाइले एउटा धुसा निकाल्नु भयो । तर कसले पुर्‍याइने दिने? पुर्‍याउन जानेलाई पनि पुलिसले पक्रिएर लैजाला भन्ने डर थियो। म अलिक केटाकेटिनै थिए। धुसा बोकेर स्पिड दौडिँदै गए। सरलाई लिएर पुलिसहरू बजार मास्तरको साप डिग्री खोला पार हुँदै थिए। खोलाको ओरालो झर्ने क्रममा खस्रो बालुवामा चिप्लिएर नराम्रो सँग देब्रे घुँडा तछारियो। तर त्यसको कुनै प्रवाह नगरी खोला पारि पुगेर कपिल सरको हातमा धुसा थमाएर उस्तै स्पिडमा म फर्किए।

तछारिएको घुँडा बाट अलि–अलि खुन रसाएको थियो, त्यतिखेर त्यसको कुनै वास्ता भएन। भरे घर पुगे पछि पनि खासै वास्ता भएन, त्यतिकै सुतियो। एकैचोटी बिहानीपख आँखा खुल्दा पो थाहा लाग्यो घुँडो त नराम्रो सँग सुन्निएर खुम्चियाउन पनि नमिल्ने भएको रहेछ। त्यसरी सामान्य रुपमा तछारिएको घुँडाले त्यतिखेर निक्कै नै दुःख दियो। १५–१६ दिन त उठेर हिँडडुल गर्न पनि सकिन। स्कुल पढाई सबै छुट्यो। यसको लगत्तै बुवा बित्नु भयो। यो दुइटा घटनाले त्यतिखेर झन्डै एक महिना जति स्कुल जान सकिन। जसका कारण पढाई पनि खस्कियो। 

खैर, त्यस पछिका दिनहरूमा आ–आफ्नो ठाउँ बाट अझ सशक्त रुपमा पञ्चायतका विरुद्ध सक्रिय भयौँ। त्यो बेला सिनियर दाइहरूको निर्देशनमा बाँसका कलमले पम्प्लेटहरु लेख्दा आफू पनि निक्कै ठुलो भएको जस्तो लाग्थ्यो। परालको माच मुनी बसेर त्यतिखेरका प्रख्यात वामपन्थी नेताहरु पद्मरन्त तुलाधर, जाग्रित प्रसाद भेटवाल लगायतका नेताहरूको भाषण तथा गायक जे.बी. टुहुरेका जनवादी गीतहरू सुन्दा उत्पन्न हुने उत्साह आवेगहरूलाई अहिले सम्झँदा पनि मन मस्तिष्कमा एउटा अलग्गै ऊर्जा सञ्चार भएको अनुभूति हुन्छ।

मलाई थाहा छ, त्यतिखेर हरि रेग्मी दाइ, कपिल सर या म जस्ता फुच्चेहरूले व्यवस्था परिवर्तनका लागि गरेको योगदान, त्यो भन्दा अगाडि र त्यस पछाडिका दिनहरूमा हाम्रो देशमा विभिन्न चरणमा भएका आन्दोलन क्रान्तिहरूमा जेलनेल भोगेका, ज्यान गुमाउन पुगेका वीर शहीद र तिनका परिवार वा त्यतिखेर हुने गरेका अनेकौँ मुठभेड हत्याकाण्डहरूमा अङ्ग भङ्ग भएर अहिले असहाय अवस्थामा जीवन बिताउन विवश हाम्रा सयौँ दाजुभाइ दिदीबहिनीहरूको योगदानको तुलनामा केही पनि होइन। 

यो परिवर्तनका लागि कुनै एउटा पक्षले मात्र नभएर अधिकांश नेपाली जनताले आ–आफ्नो ठाउँ बाट धेरै सङ्घर्ष त्याग र बलिदान गरेका छन्। त्यसैले लोकतन्त्र तथा सङ्घीय व्यवस्थालाई कसैले आफ्नो बुवाले अंशमा दिएको निजी सम्पत्ति ठानेर गलत प्रयोग गरिरहँदा आम जनताहरू चाहिँ सधैँ मूकदर्शक भएर बस्ने कल्पना गर्नु ठुलो भुल हुनेछ। त्यसैले प्राप्त उपलब्धिलाई ग्रान्टेड्का रुपमा नलिईकन, कमजोरीहरू छन् भन्ने कुरालाई स्वीकार गरेर अविलम्ब सुधार गर्न तिर नलाग्ने हो भने ढिलो चाँडो एक दिन जनताले यसको पनि विकल्प अवश्य रोज्ने छन्। यो विषयमा सम्बन्धित पक्ष अरूलाई दोष लगाउन छाडेर बेलैमा सचेत भएको राम्रो।

रमेश ढकाल भद्रपुर, झापा (हालः दोहा, कतार) dhakalrp@gmail.com

 

सम्बन्धित समाचार