२०८० फाल्गुन १० गते , विहीबार

भुटानी शरणार्थी शिविरमा कोरोनाको पीडा : पानी दिने आफन्त पनि छैनन्

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १७ गते , आईतबार
भुटानी शरणार्थी शिविरमा कोरोनाको पीडा : पानी दिने आफन्त पनि छैनन्

(चिरञ्जीवी घिमिरे) झापा । भुटानी शरणार्थी शिविर बेल्डाँगीका शान्ता क्षत्री र उनकी श्रीमती ममता केही दिनयता बिरामी छन्। ममतालाई परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ। शान्ताले परीक्षण गराएका छैनन्। तर, लक्षण मिल्दोजुल्दो छ।

घरमा भएका दुईजना बिरामी परेका छन्। दुई छोरी र एक छोरा पुनर्वासमा अमेरिका गएका छन्। अहिले उनीहरूलाई तातोपानी तताएर दिने घरमा कोही छैनन्। ‘भएका तीनजना छोराछोरी अमेरिका छन्। हामी दुवैजना बिरामी परेका छौँ। अहिले तातोपानी तताएर दिने पनि छैनन्,’ ममता भन्छिन्, ‘खानाचाहिँ छिमेकीले दिइरहेका छन्। तर, समय–समयमा खाजा बनाएर खान निकै गाह्रो हुन्छ। लुगा धुन सकेको छैन।’ छोरा–छोरीले आउँछु भने पनि अहिले आउन पनि समस्या भएको उनी बताउँछन्। ‘यसपटक त पर्नु पीर परेको छ। अस्ति छोराछोरीलाई पर्दा हामीलाई पीर भयो। अहिले हामीलाई पर्दा उनीहरूलाई पीर छ,’ शान्ता भन्छन्, ‘टाढा भएपछि यस्तै रहेछ।’

शरणार्थी शिविरमा पारिवारिक विखण्डनमा परेका भुटानी शरणार्थीलाई अहिले कोरोना महामारीले सताएको छ। परिवारका सदस्यमध्ये केही पुनर्वास भएर तेस्रो देश गएका छन्। शिविरमा रहेका वृद्धवृद्धा बिरामी पर्दा तातोपानीसमेत तताएर दिने सदस्य नहुँदा उनीहरू समस्यामा छन्। भुटानी शरणार्थी शिविरमा दिनप्रतिदिन बिरामी हुने र कोरोना संक्रमितको संख्या बढिरहेको छ। केहीले परीक्षण गराएका छन् भने अधिकांश परीक्षण नगराई छाप्रोमै आइसोलेसनमा बसेका छन्।

भुटानी शरणार्थी वृद्धा बुद्धमाया राई (६८) शिविरमा एक्लै छिन्। पाँचजना सन्तान र श्रीमान् तेस्रो देश पुनर्वास भएर गएका छन्। उनलाई भाषा पनि नमिल्ने देश जान मन लागेन। यसरी शिविरमा एक्लै बिताएको वर्षौँ भयो। पहिला त एक्लै भए पनि जसोतसो जिन्दगी चलेकै थियो। तर, यसपटक भने उनलाई निकै मुस्किल पर्‍यो। कोरोना भाइरस संक्रमणले थलिइन्, बुद्धमाया। त्यो समयमा घरमा पानीसमेत तताएर दिने नहुँदा उनलाई निकै मुस्किल पर्‍यो। ‘यस्तो वेलामा परिवारको धेरै याद आउने रहेछ। तर, के गर्नु फोनमा समेत कुरा हुन गाह्रो छ। कोरोना त निको भयो। तर, शरीरमा केही शक्ति छैन। अहिले पनि केही काम गर्न सक्दिनँ। बल्ल–बल्ल पकाएरचाहिँ खाँदै छु,’ उनी भन्छिन्, ‘बिरामी हुँदा छिमेकीले खाना बनाएर खुवाउनुभयो। तर, घरमा आफ्ना मान्छे भएजस्तो नहुँदो रहेछ। अब त यसै ज्यान जालाजस्तो लाग्न थल्यो।’

पुनर्वासका कारण एक्लिएको परिवारमा निकै समस्या देखिएको भुटानी शरणार्थी अगुवा तथा पूर्वक्याम्प सचिव युवराज राई बताउँछन्। ‘शिविरमा समस्या त भनिसध्यै छैन। धेरै शरणार्थी बिरामी भएर लडिरहेका छन्। पकाएर दिने पनि छैनन्। बाहिरबाट हेर्दा शिविरमा अमेरिका अष्ट्रेलियाबाट पैसा आइहाल्छ भन्ने सोच्छन्। तर, यहाँको अवस्था भयावह छ,’ उनी भन्छन्, ‘केही बिरामीलाई हामीले पनि सकेको सहयोग गर्दै आएका छौँ। दातृ निकायले रासन पनि दिन छाडेपछि त शरणार्थीको अवस्था विजोग छ।’

कोरोना महामारीको चपेटामा परेका शरणार्थीलाई सहयोग गर्न पूर्वक्याम्प सचिव चिरञ्जीवी राईको नेतृत्वमा केही युवा सक्रिय रूपमा लागेका छन्। उनीहरूले बिरामी परेका शरणार्थीको समस्यामा सहयोग गर्दै आएका छन्। ‘हामी स्वतस्फूर्त लागेका छौँ। बिरामी शरणार्थीलाई सहयोग गर्न कतिपय अवस्थामा आफैँ लाग्छौँ,’ उनी भन्छन्, ‘हामीले नसक्ने भए तेस्रो देश पुनर्वास भएकालाई सहयोग मागेर भए पनि बिरामीको उपचार र खानपानमा सहयोग गर्दै आएका छौँ।’ नयाँ पत्रिकाबाट

सम्बन्धित समाचार