राष्ट्रपति र प्रधानमन्त्रीको अश्लील टिकटक बनाएको आरोपमा झापामा एकजना पक्राउ

झापा । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक बनाएको आरोपमा झापामा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ६ बर्मेली टोलका ३८ वर्षीय विकास भन्ने सोमप्रसाद घिमिरे रहेको प्रहरीले जनाएको छ। घिमिरेले केही दिनअघि मात्र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको विषयमा अश्लील टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अश्लील भिडियो बनाएपछि घिमिरेविरुद्ध प्रहरी प्रधान कार्यालय साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखामा मानहानी र साइबर क्राइमअन्तर्गत उजुरी परेको थियो। प्रहरीमा उजुरी परेपछि प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले घिमिरेलाई घरबाटै साउन ७ गते पक्राउ गरी साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौं पठाइसकेको प्रहरीले बताएको छ। पक्राउ परेका घिमिरेलाई प्रहरी विद्युतीय ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको ब्युरो शाखाले जनाएको छ।