व्यवहार कुशल पर्शुराम अग्रवाल

गोपाल गिरी । मानिस जन्मिन्छ, मर्छ – त्यो ईश्वरीय भनौ या प्रकृतिको नियम हो । तर, जो मान्छे मरेर पनि कालान्तरसम्म धेरैको प्रिय बन्छ त्यो उसको जीवनकर्मको फल हो। मृत्युपछि परिवारले श्राद्ध गर्ने यो हाम्रो धार्मिक नियम हो तर, परिवारजनले मात्र होइन समाज र समुदायले सम्झिइरहन्छ भने उसको जीवन धन्य भएको ठानिन्छ । मानिसले आफ्नो जीवनकालमा गरेका असल कर्मले नै ऊ स्मरणीय अर्थात् दस्तावेजमा उल्लेख गर्न लायक हुन्छ । प्रशुराम अग्रवाल – यस्तै एउटा उल्लेख गर्न लायक व्यक्तित्व हुन् भन्ने मलाई लाग्छ – जसलाई केही पुस्ताले निश्चय पनि सम्झने छन् ।
प्रशुरामजीलाई धेरै मान्छेले अनेक हिसाबले बुझ्न सक्छन्,उनको बहुमुखी क्षमताको खुवी पनि यही हो। उनको निधनपछि प्रकट गरिएका समवेदनारूपी स्टाटसहरूमा प्रयुक्त शब्दालंकारहरूले पनि प्रशुरामको बहुमुखी व्यक्तित्वको उजागर भएको छ ।
वास्तवमै प्रशुरामजी विविध क्षमतायुक्त व्यक्तित्वको पुञ्ज हो । यद्यपि कोही पनि मान्छे सर्वगुण सम्पन्न त हुँदैन। भगवानलाई त दोषारोपण गर्न सकिन्छ भने मान्छेले मान्छेलाई के बाँकी राख्थे र १ त्यो पनि एकले अर्कोलाई पाएसम्म स्यालले कुखुरालाई लखेटे जस्तो लखेट्ने जमाना – कालखण्डका हामीले भोगेको यो अर्काको खुट्टा तानेर मात्र आफू माथि पुगिन्छ भन्ने कुत्सित मनसाय बोकेका मानिसको बाहुल्य भएको समाजमा ।त्यस्तै, मान्छेहरूको भीडमा अलिक भिन्न सोच र व्यवहार–कुशल व्यक्ति हुन् – प्रशुराम । तसर्थ पनि राम्रो गर्छु भन्दाभन्दै धेरै पटक बेतुकको लखेटाइमा परेका घटना छन् – उनका पनि । आफूले गरेका र गर्न खोजेका कामलाई गलत बुझिदिने र अनेक व्यर्थ अर्थ लगाएर बाधा अड्चन पु¥याएका तीतो घटनाले निराश बनेका प्रसंगहरू बेला–बेलाको अन्तरंग कुराकानीमा प्रकट भएका छन् – प्रशुरामजीबाट।
मान्छेले आर्थिक उपार्जनका लागि विभिन्न उद्यम त गर्छ नै। उद्यमविहीन बस्ने चरित्र प्रशुरामको पनि होइन। उसले गरेको उद्यमसंगै सवै खाले मान्छेलाई अलग अलग ढंगले ससम्मान उपयोग गर्ने क्षमता उनको विशिष्ट गुण हो । आम मान्छेले आर्थिक उपार्जन गर्ने कोशिश गर्छ, सम्पत्ति जोड्छ – कमाउँछ। आफ्ना लागि, परिवारका लागि, समाजमा प्रभाव देखाउनका लागि तर, प्रशुराममा आफू र आफूसंगै हिंडेका साथी संगीलाई उकास्नु र आर्जनबाट समाज परिवर्तनमा सकेसम्म योगदान गर्ने अलिक फरक स्वभाव थियो। त्यसका थुप्रै उदाहरणहरू छन्। ऊसंग संगत गरेका, जोडिएका धेरै मानिसलाई उसले उकासेको छ । परिवारका धेरै मान्छेको संकटमा ऊ सतिसालझैँ उभिएको छ । ऊ परिवारको मियो हो।कुखुरीले चल्ला छोपेझैँ उसले परिवारलाई अभिभावकत्व प्रदान गरेको त थियो नै। तर परिवारका लागि मात्र होइन समुदायकै रानो बनेर भूमिका निर्वाह गरेका घटना पनि धेरै छन्। धार्मिक र सामाजिक क्रियाकलापमा उदार मनका साथ सहयोग गर्ने र आश गरेर पुग्ने जो कोही पनि सायदै खाली हात फर्कनुपरेको छ– प्रशुरामबाट।
सार्वजनिकरूपमा गरिने सामाजिक – धार्मिक क्रियाकलापमा मात्र होइन आर्थिक अभावले रोकिन सक्ने विवाह, मरिमराउमा पनि सहारा बनेका अनेक घटना छन्। मठ–मन्दिर, गुम्बा, मस्जिद, स्कूल, अस्पताल, सत्तल–पार्टी, जेष्ठ नागरिक भवनको भौतिक संरचना निर्माण र मर्मत सम्भार होस् वा तिनको नियमित संचालन परिचालनमा उनको सहयोग उल्लेख्य छ । देखिने आर्थिक र भौतिक सहयोगबाहेक पनि अन्य विविध समस्यामा प्रशुराम कहाँ पुगेपछि एउटा निकास लिएर मानिस फर्किन्थ्यो। तसर्थ उ समाजका लागि पथ प्रदर्शक, योजनाकार, कुशल संयोजक र सकारात्मक सोच भएको असल मानव थियो।
भद्रपुरको विकासमा उसको उल्लेखनीय योगदान छ। ऊ विकास प्रेमी हो। भाषणमा होइन काममा विश्वास गर्ने भौतिक निर्माणका लागि ऊ विश्वकर्मा हो। ऊ आफै इन्जिनियर हो, आफै ओभरसियर र कर्मवीर योध्दा हो। योजना र निर्माण उसको प्राथमिकताको क्षेत्र हो। यस क्षेत्रमा समाजसेवाको लागि ऊ उदारमनाको पर्याय नै थियो । त्यसैले ऊ कर्मशील दानवीर हो।दुःखित पीडित र समस्यामा परेकाहरूको बोझ बोक्न हरदम तयार रहने प्रशुरामजीको व्यवहारबाट बेला बेलामा परिवार समेत दिक्क मान्थे। ऊ सहयोगी थियो परिवार त्यसलाई अनावश्यक ठान्थ्यो। धार्मिक सामाजिक कामका लागि उनलाई सम्झेर पुग्ने जो कोही सन्तुष्ट भएर फर्केका अनेक दृष्टान्त छन्।
उनी धर्मप्रति आस्था राख्थे र असल कर्ममा विश्वास गर्थे। ऊ कुशल संगठक, असल व्यवस्थापक र न्यायिक क्षमतावान व्यक्ति पनि हो। यही खुवीले भद्रपुरमा समाजसेवा ट्रष्ट बनायो र मोहपाल धर्मशालालाई परिमार्जित गर्यो। जीर्ण भद्रपुर गौशालाको जीर्णोद्धार गर्यो। वाणिज्य संघको भवन बनायो। मेची अञ्चल अस्पतालमा २५औं लाख लगानी गरेर मर्मत सम्भार गरायो । मेची खोलामा बाँसे पुलको अवधारणासंगै त्यसको आयले स्थानीय मठ मन्दिर मर्मत र परिचालन गर्ने तानावाना बुन्यो ।
यी र यस्ता अनेकन् योजना र विकास गरिरहँदा प्रशुराम प्रचार नचाहने मान्छे पनि हो। अनेक ठाउँमा उसले गुप्त दान गरेको छ । मञ्च र सम्मानबाट ऊ टाढा भाग्थ्यो। धेरै नपढे पनि धेरै कुरामा व्यवहारप्रदत्त विज्ञता, पारंगत , व्यावहारिक ज्ञान भएको , मृदुभाषी, रिस नउठ्ने स्वभावको प्रशुरामको निधनले झापाली समाज र समुदायलाई अपुरणीय क्षति भएको छ । समाज समुदायले एउटा असल नागरिक गुमाएको छ । उनको निधनसँगै धेरै आश्रितहरूको मन मुर्झाएको छ, अनेकको सहारा गुमेको छ र उनको अवसानसंगै धेरै आशा, भरोसा र सम्भावनाहरूको अवसान भएको छ ।