बिर्तामोड नगरपालिकाद्धारा कृषकलाई वोयर जातका बोका र कृषि सामाग्री वितरण
झापा । बिर्तामोड नगरपालिकाले कृषकहरूको लागि ब्याडको वोयर जातका बोका, कृषि औजार तथा कृषि सामाग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बिच नगरका १० वटा वडाका कृषक तथा विभिन्न कृषक समूहहरूलाई बोयर जातका बोका,कृषि औजार तथा साइलेज मेसिन वितरण गरिएको हो ।
नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखा र कृषि विकास शाखाको आर्थिक वर्ष २०७७–७८ को स्वीकृत कार्यक्रम अनुसार श्रीजंघा बाख्रा पालन समूह बिर्तामोड ७,लखिबारी युवा बाख्रा पालन कृषक समूह बिर्तामोड ९, बद्रीवासी बाख्रा पालन कृषक समूह बिर्तामोड ९ र नयाँ नमुना बाख्रा पालन कृषक समूह बिर्तामोड ८ लाई बोका वितरण गरिएको हो ।
यसैगरी सोही कार्यक्रम अन्तर्गत बिर्तामोड कृषि तथा पशुपालन समूह बिर्तामोड ७ लाई साइलेज मेसिन हारवेस्टर हस्तान्तरण गरिएको छ । व्यावसायिक कृषकहरूको लागि पशु आहार व्यवस्थापन गर्ने उद्देश्यले १० लाख ५० हजार रुपैयाँ मूल्य बराबरको मेशिन हस्तान्तरण गरिएको हो । जसमा नगरपालिकाको ८० प्रतिशत र बिर्तामोड कृषि तथा पशुपालन समूह समूहको २० प्रतिशत लगानी रहेको छ ।
यस्तै नगरपालिकाले १० वटै वडाका ४४ जना कृषकहरूको लागि च्यापकटर (कुटी काट्ने मेशिन) वितरण गरेको छ । बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा यो मेशिन वितरण गरिएको हो ।यस्तै नगरपालिकाले तरकारी उत्पादन गर्ने नगरका १० वटै वडाका ६० जना व्यावसायिक कृषकहरूको लागि स्पेयर ट्याङ्की,अर्ग्यानिक विषादी लगायतका विभिन्न सामाग्रीहरू समेत वितरण गरेको छ ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुवकुमार सिवाकोटीले सहयोगी संस्था सहारा नेपाल प्रति धन्यवाद ज्ञापन गरेका छन् । सहारा नेपाल कृषक तथा विपन्नहरूको लागि सहारा बनेको भन्दै उनले आगामी आर्थिक वर्षमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा सहारा नेपाल प्रति उच्च सम्मान व्यक्त गरे । नगरप्रमुख सिवाकोटीले आगामी आर्थिक वर्षमा वितरण गरिने कृषि औजार तथा सामाग्री वितरण कार्यक्रमलाई मङ्सिर १५ गते अगाडि नै सक्न पनि पशुपक्षी तथा मत्स्य विकास र कृषि विकास शाखालाई निर्देशन दिए ।
यस्तै उपप्रमुख पवित्रा महतरा प्रसाईँले विगतका वर्षहरू देखि नै कृषि, पशुपालन तथा जनता आवास कार्यक्रममा सहारा नेपालसँगको साझेदारीमा कार्यक्रम भइरहेको भन्दै प्रशंसा गरिन । उनले कृषिको क्षेत्रलाई विकास गर्न सके मात्रै देश अगाडि बढ्ने भन्दै कृषकहरूलाई नगरले दिएको सामाग्री सदुपयोग गर्न आग्रह गरिन ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले पनि नगरपालिकाको कार्यक्रममा सहारा नेपालले गरेको सहयोग प्रति आभार व्यक्त गरे।उनले कृषि र पशु पालनको क्षेत्रको बढोत्तरी गर्नको निमित्त सहारा नेपालको सहयोग रहेको भएको भन्दै आगामी आर्थिक वर्ष २०७८–७९को लागि पनि सहकार्य गर्ने दृढता रहेको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको जानकारी दिनु भयो । प्रमुख प्रशासकीय अधिकृत दाहालले कृषि र पशु देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको भन्दै यस क्षेत्रलाई व्यावसायिक बनाएर लैजानु पर्नेमा जोड दिए ।
कार्यक्रममा सहयोगी संस्था सहारा नेपाल साकोसका सहसचिव ज्ञानुनाथ मैनालीले कार्यक्रम सफल हुनुमा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले मेहनत गरेको बताए । उनले नगरपालिकासँग सहारा नेपालको टिम पनि सँगसँगै लागेर विपन्न वर्गका ग्रामीण क्षेत्रमा रहेका किसानहरूलाई थोरै भए पनि राहत पुगोस् र उत्पादन मूलक काममा आयात वृद्धि होस् भन्ने अभिप्रायले विगत देखि अहिलेसम्म गर्दै आएको बताए ।
कार्यक्रममा बिर्तामोड ९ की वडा अध्यक्ष पवित्रा पाठक,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शाखा अधिकृत देवराज कार्की, कृषि विकास शाखा प्रमुख राजेन्द्र कडरीया, पशुपक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, प्राविधिक विष्णुप्रसाद भट्टराई, सहारा नेपाल साकोसका शङ्कर रिजाल लगायत जनप्रतिनिधि तथा कृषकहरूको सहभागिता रहेको थियो ।