२०८१ चैत्र १४ गते , विहीबार

कोरोना कहर : किसानको दूध विक्री नहुँदा फाल्नु पर्ने अवस्था

sajilo news
पार्थ मण्डल
२०७८ असार १३ गते , आईतबार
कोरोना कहर : किसानको दूध विक्री नहुँदा फाल्नु पर्ने अवस्था

झापा । दोस्रो लहरको लामो निषेधाज्ञाले ग्रामीण क्षेत्रका किसानको दूध विक्री नहुँदा समस्या आउन थालेको छ । झन्डै २ महिना देखि बजारमा दूध र दुग्ध परिकारको खपत घटे पछि दूध खरिद बन्द हुँदा किसानलाई गाई बस्तु पाल्न समेत समस्या हुन थालेको छ ।

झापाका पशु पालक किसानले उत्पादन गरेको दूधले बजार नपाउँदा समस्या हुन थालेको छ । दूध विक्री नहुँदा गाई बस्तुलाई खुवाउने दाना र चापड खरिद गर्न नै समस्या हुन थालेको हो । लामो निषेधाज्ञाले बजार बन्द भए पछि फाल्नु अवस्था आएको किसानले गुनासो पोखेका छन् ।

दूधमा आत्मनिर्भर रहेको झापा जिल्लामा मुख्य ४ वटा डेरीले दूधको कारोबार गर्दै आएका छन् । एउटै डेरीले १० देखि २० हजार लिटरसम्म दैनिक दूधको कारोबार गर्दै आएको पनि डेढ महिना देखि बजार बन्द हुँदा दूधको विक्रीमा गिरावट धेरै आएको ग्रामीण क्षेत्रमा दूध सङ्कलन गर्दै आएको हदे दुम्से दुग्ध उत्पादन तथा सङ्कलन सहकारी संस्थाका पदाधिकारी लीला गुरागाईँले बताए । 

बजारमा दूधको कारोबार गर्ने सानातिना डेरी उद्योग समेत बन्द रहेका छन् । दूध विक्री नहुने समस्या एकातिर छ भने अर्को तिर गाईबस्तुलाई खुवाउने खाद्यजन्य समेत अभाव हुन थालेको किसानले गुनासो पोखेका छन् ।

सरकारले निषेधाज्ञामा दूध तथा कृषिजन्य सामाग्रीलाई ढुवानीमा रोक लगाएको छैन । तर लामो समयको बजार बन्दले दूधको आपूर्ति नहुँदा डेरी देखि किसानसम्मले ठुलो क्षति व्यवहोर्नु परेको उनीहरूले बताएका छन् ।

सम्बन्धित समाचार