२०८० मंसीर २० गते , बुधबार

हिजो राती देखेको सपना

विचार

sajilo news
पार्थ मण्डल
२०७८ असार ५ गते , शनिबार
हिजो राती देखेको सपना

रमेश ढकाल । सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओली अहिले आफ्नै पार्टी भित्रको आन्तरिक कलहका कारण सत्ता जोगाउने कसरतमा धेरै नै व्यस्त हुनु परेको भनेर बहालवाला प्रधानमन्त्रीको यो अवस्थालाई  मध्यनजर गर्दै पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईको संयुक्त प्रयास अन्तरगत भएको कुराकानीमा अमेरिका र ब्रिटेनले हाम्रो देशलाई कोरोनाभाइरस विरुद्धको बिस बिस लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएका रहेछन्। यसै गरेर वहाँहरूकै संयुक्त प्रयास अन्तरगत भएको कुराकानीमा फ्रान्स, जर्मनी, इटाली र बेल्जियमले पनि पन्ध्र पन्ध्र लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएछन्।

यसरी हाम्रा पूर्वप्रधानमन्त्रीको संयुक्त प्रयास मार्फत कुल मिलाएर जम्मा एक करोड डोज खोप नेपाललाई अनुदानमा प्राप्त हुने भएको रहेछ। यो एक करोड डोज खोप ढिलो भनेको पनि अहिले चलिरहेको जुन महिनाको अन्तिम सम्ममा नै नेपाल भित्री सक्ने रहेछ।

यो ठुलो सफलता हात पार्नका लागि हाम्रा पाँचै जना पूर्वप्रधानमन्त्रीहरुले नेपालको एक्स प्राइम मिनिस्टरको हैसियतमा आ–आफ्नो सम्पर्क र प्रभावको भरपुर प्रयोग गर्दै माथि उल्लेखित देशका उच्च तहका नेता तथा सरकारी अधिकारीहरूसँग अत्यन्तै गहन रुपमा कुराकानी गर्नु भएको रहेछ।

यसरी एक करोड डोज खोप नेपाल आउने भए पछि अब स्कुल कलेजका शिक्षक प्राध्यापक तथा विद्यार्थी सबैले कोरोनाभाइरस विरुद्धको खोप छिट्टै नै लगाउन पाउने तथा लामो समय बाट स्कुल कलेजहरूमा रोकिएको पढाई लेखाइ अब चाँडै पुनः सुरु हुने सबैमा आशा जागेको रहेछ। यो खबर सुनेर भविष्य नै अन्योल अवस्थामा रहेका हाम्रा लाखौँ विद्यार्थी भाइ बहिनीहरू पनि एकदमै खुसी बनेका रहेछन्।    

सपनामा देखे, हाम्रा पाँच पूर्वप्रधानमन्त्रीहरुले त एउटा संयुक्त विज्ञप्ति निकालेर गएको मङ्गलवार राति मेलम्ची नदिमा आएको बाढीले बगाएर घर जग्गा विहीन बनेका त्यहाँका जनताहरूको उपयुक्त पुनर्वास र क्षतिपूर्तिमा लाग्ने सम्पूर्ण खर्चको जिम्मेवारी हामी लिनेछौँ भनेर घोषणा गर्नु भएको रहेछ। पुनर्वास र क्षतिपूर्तिमा लाग्ने सम्पूर्ण खर्च राज्यले नभएर हाम्रा पाँच जना पूर्वप्रधानमन्त्रीहरुले व्यक्तिगत रूपमा बेहोर्नु हुने भएको रहेछ। उक्त विज्ञप्तिमा अब मेलम्ची क्षेत्रका पीडित आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई सहयोग गर्न भनेर खाडी लगायतका अन्य देशहरूमा रहने हाम्रा प्रवासी दाजुभाइ दिदी बहिनीहरूले गाँस काटेर आर्थिक सहयोग संकलन गरिराख्नु नपर्ने रहेछ भनेर पनि स्पष्ट पारिएको रहेछ।

यो सुने सँगै अब पूर्वप्रधानमन्त्रीहरुको यो अनुकरणीय कदमले कोरोनाको उपचारमा भन्दा पनि कोरोनाको उपचार र रोकथाम गर्ने बहानामा कतिपय भ्रष्ट व्यक्तिहरू बाट हुने गरेको अनियमितता र भ्रष्टाचारका कारण रित्तिनै लागेको सरकारी ढुकुटीको ठुलो रकम अब जोगिने परेछ भनेर म चैँ सपनीमै मक्ख पर्दो रहेछु।

म सपनीमै मक्ख पर्दै गर्दा, त्यहाँ अर्को एउटा हाल्ला चल्दै थियो।  त्यो हल्लामा मनिसहरु भन्दै थिए, अब हाम्रा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले छिट्टै नै अर्को एउटा विज्ञप्ति निकालेर २०४६ साल पछिका सबै उच्च दर्जाका कर्मचारी, शीर्ष नेता, मन्त्री सबैको सम्पत्ति छानबिन गर्नका लागि एउटा स्वतन्त्र आयोगको गठन गरेर अविलम्ब काम सुरु गर्न-गराउन सरकारको ध्यान आकर्षण गराउने रे। 

उक्त  विज्ञप्तिमा कर फर्स्योट आयोग मार्फतको राजस्व घोटाला, आयल निगमको जग्गा खरिद प्रकरण, वाइड बडी जहाज खरिद प्रकरण, सुन काण्ड लगायतका मुद्दाहरूलाई अविलम्ब निष्कर्षमा पुराएर सबै भ्रष्टाचारीहरूको सर्वस्व हरण गरियोस् भनेर पनि माग गरिने भएको रहेछ। यदि यी कामकार्वाइहरु अविलम्ब रुपमा अघि बढाउन सरकारले कुनै पनि प्रकारको आनाकानी या ढिलासुस्ती गर्न खोजेको खण्डमा हाम्रा पाँचै जना पूर्वप्रधानमन्त्रीहरु संयुक्त रुपमा अनशनमा बस्ने योजना पनि वहाँहरूले बनाउनु भएको रहेछ।

यस्तो हल्ला सुनेर म चैँ सपनीमै हाम्रा पाँचै जना पूर्वप्रधानमन्त्रीहरूको जय जयकार गर्दै खुसीले उफ्रन खोज्दो रहेछु। सपनीमा त्यसरी उफ्रन खोज्दा हात पाउँ नचलेर मलाई त त ऐँठन पो भएछ। ऐँठनको कारणले मेरो श्वासको गति नै रोकिएर म निसासिन पुग्छु र त्यै पीडाले गर्दा मेरा आँखा खुल्छन्। दुःखको कुरा त ऐँठनका कारण निसासिएर सपनीमा जुन पीडाको महसुस गरेको थिए, मेरो देशको हालको अवस्थाका बारेमा सोचेर  अहिले बिपनीमा पनि उक्त पीडा बाट मुक्त हुन सकिराखेको छुइन।
 

सम्बन्धित समाचार