२०८१ माघ २५ गते , शुक्रबार

असार १ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु गर्न निर्देशन

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २३ गते , आईतबार
असार १ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु गर्न निर्देशन

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०७८ ०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा उनले तत्काल देखिने गरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिएका हुन।

बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधि योजना तयार गर्न ढिला गर्न नहुने बताउँदै उनले साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने विषयमा अघि बढ्न निर्देशन दिए । मन्त्री श्रेष्ठले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गरे । उनले भने, ‘असार १ गतेबाट भर्ना प्रकृया सुरु गर्नेछौँ, त्यसको निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्नुस् ।’

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताए । उनले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी गराए । ‘बजेट तत्काल कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।

छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गरिने बताए । आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउँदै उनले त्यसको लागि योजना निर्माण भइरहेको जानकारी दिए।

उनका अनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाख रुपैयाँसम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपूर्ण योजना कार्यान्वयन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको बताए ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताएका छन्। उनले भने, ‘गत वर्षकै आधारमा एसईईको परीक्षाफल प्रकाशित गर्नेछौँ ।’

बैठकमा मन्त्री श्रेष्ठले सबै शिक्षक र कर्मचारीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन स्वाथ्य मन्त्रालयलाई पुनः आग्रह गर्ने बताए। उनले मन्त्रालयका अधिकारीलाई निर्देशन दिँदै भने, ‘करिब एक महिना अघि तत्कालिन स्वास्थ्य मन्त्री हृदेश त्रिपाठी समक्ष अग्रपंतीमा खटिने शिक्षकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह सहितको पत्र दिनुभएको थियो ।’

सो पत्र कार्यान्वयन गर्न पुनः मन्त्रालयलाई आग्रह गर्दै पत्र पठाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । बैठकमा जनक शिक्षा सामग्री संस्थान लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले शैक्षिक सत्र अगावै पुस्तक ढुवानीगर्न खुला गर्न आग्रह गरे । लगत्तै मन्त्री श्रेष्ठले सो विषयमा सिसिएमसीमा पत्राचार गर्ने बताए।

शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुष्ठ अर्यालले असार १ गतेबाट भर्ना प्रकृया अघि बढाउने, शैक्षिकसत्र अगावै सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने व्यवस्था गर्न प्रकृया अघि बढाउनुपर्ने बताए ।

बैठकमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बजेटमा उल्लेख भएको विषय कार्यान्वयन गर्ने विषयमा मन्त्रालयले कार्ययोजना निर्माण गर्नुपर्ने बताए । उनले मन्त्रालले सबै निकायको सहयोगमा बजेट कार्यान्वयन गर्न योजना तयार पार्नुपर्ने उल्लेख गरे ।

सम्बन्धित समाचार