२०७८ जेष्ठ २९ गते , शनिवार

कक्षा १२ सम्मको पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराइने

कक्षा १२ सम्मको पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराइने :: Times of Pradesh

काठमाडौँ । सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ ।

जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८र७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरिएको छ । यो घोषणापछि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्नेछन् । यसअघि कक्षा १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने गरिएको छ । सरकारले कक्षा १२ लाई विद्यालय तहका रूपमा अङ्गीकार गरेको छ ।

जनक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले सरकारले भनेकै समयमा पुस्तक उपलब्ध गराउन सक्षम रहेको जानकारी दिए । जनक शिक्षाले हाल कक्षा ११ का नेपाली, अङ्ग्रेजी, सामाजिक विषयका पाठ्यपुस्तक छपाइ गरिरहेको छ । जनक शिक्षाले गतवर्ष पनि कक्षा ११ का अनिवार्य विषयका पाठ्यपुस्तक प्रकाशन गरी बिक्री वितरण गरेको थियो ।
कक्षा १२ को पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रले छपाइका लागि स्वीकृति दिन बाँकी रहेको जनाएको छ । सरकारले असारबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने निर्णय यसअघि नै गरिसकेको छ । यो अवस्थामा नयाँ शैक्षिक सत्र प्रारम्भ भएलगत्तै विद्यार्थीको हातमा नयाँ पुस्तक पु¥याउन समस्या नहुने जनक शिक्षाले दाबी गरेको छ ।

जनक शिक्षाले हाल सामुदायिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक पर्ने पुस्तक छपाइ कार्य पूरा गरेर बिक्री वितरणको तयारी सुुरु गरेको छ । कक्षा ४ देखि १० सम्म एक करोड ७७ लाख थान पुस्तक छपाइ गरिएको छ । यसको वितरणका लागि प्रदेशका कार्यालयमा पठाइसकिएको जानकारी महाप्रबन्धक झाले दिए । जनकका विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा प्रदेश कार्यालय रहेका छन् ।
काठमाडौँ उपत्यकाका तीन जिल्लाले सरकारी छापाखानाको ढुवानीलाई सवारीसाधनमा ब्यानर वा प्रिन्ट राखी राति ९ बजेदेखि बिहान ९ बजेसम्म न्यूनतम जनशक्ति प्रयोग गरेर काम गर्न बाटो खोलिदिएका छन् ।

तर यतिले मात्रै विद्यार्थीको हातमा पुस्तक पु¥याउन सम्भव नहुने महाप्रबन्धक झाले बताए । सबै जिल्लामा पुस्तक पसल खुल्ने या जनक शिक्षाका बिक्रेताले पुस्तकको कारोबार गर्न पाएमा विद्यार्थीको हातमा पुस्तक पु¥याउन सम्भव हुने जनाइएको छ । गोरखापत्रबाट



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment