भद्रपुरमा पहिलो पटक जनप्रतिनिधिको कोरोना संक्रमणबाट मृत्यु
झापा । भद्रपुर नगरपालिकामा एक जनप्रतिनिधिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ८ निवासी ५२ बर्षीय इन्द्रसिंह राजवंशी रहेको नगरपालिकाका स्वास्थ्य फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । राजवंशी भद्रपुर ८ नम्बर वडाका सदस्य हुन् ।
उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । ज्वरो र रुघाखोकी लगाएपछि राजवंशी आफै जेठ ७ गते कोरोनाको पीसीआर परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर गएका थिए । जेठ ९ गते आएको रिपोर्टमा पीसीआर पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल भर्ना गरिएको थियो ।
सुरुमा सामान्य वार्डमा उपचाररत राजवंशीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आइसियुमा राखेर उपचार थालिएको थियो । उनको सोही अस्पतालमा बुधबार दिउँसो २ बजेर ३५ मिनेटमा मृत्यु भएको स्वास्थ्य फोकल पर्सन भट्टराईले जानकारी दिए । कोरोनाबाट भद्रपुरमा पहिलो पटक जनप्रतिनिधिको मृत्यु भएको हो । योसँगै दोस्रो लहरको नयाँ भेरिएन्टबाट भद्रपुरमा हालसम्म १७ जनाको मृत्यु भइसकेको जनाइएको छ ।