कोरोनाबाट मेचीनगरका वडाध्यक्ष मेचेको मृत्यु
झापा । कोरोना सङ्क्रमणबाट झापामा एक जना वडाध्यक्षको निधन भएको छ । मेचीनगर नगरपालिका ७ नम्बर वडा अध्यक्ष चन्दन मेचेको सङ्क्रमणका कारण निधन भएको हो । उनको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारको क्रममा शनिवार बिहान साढे ११ बजे मृत्यु भएको मेचीनगर नगरपालिका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि वडाध्यक्ष मेचेलाई बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो । वैशाख २७ गते अस्पतालमा भर्ना गरिएको उनलाई वैशाख २८ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई पाँच दिन अस्पतालको भेन्टिलेटर राखिएको थियो । वडाध्यक्ष मेचे आदिवासी जनजाति सङ्घका जिल्ला अध्यक्ष तथा मेचे समाज शिवियारी आखातका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् । उनको श्रीमती, तीन छोरा र बुहारी रहेका छन् । उनको शवलाई नेपाली सेनाको सहयोगमा निन्दा नदीमा दाहसंस्कारको गरिने जनाइएको छ ।