झापामा बिहे घरबाट फैलियो कोरोना : सङ्क्रमणबाट बेहुला र बेहुलाकी आमाको मृत्यु, बेहुली अस्पताल भर्ना
झापा । घरमा धूमधामका साथ विवाहको आयोजना गरेको केही दिनभित्रै बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । दुवै जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । झापाको गौरादह नगरपालिका ४ निवासी ३० वर्षीय सन्तोष ताजपुरियाको विराटनगरस्थित कोसी कोभिड अस्पतालमा गए राति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । ताजपुरियाले महिना दिनअघि मात्र विवाह गरेका थिए । उनको आमा शान्तिदेवी ताजपुरियाको वैशाख २३ गते मृत्यु भएको थियो । आमाको पनि कोरोना सङ्क्रमणबाटै मृत्यु पारिवारिक स्रोतले जनाएको छ । ताजपुरियाको घरमा वैशाख १० गते विवाह भएको थियो ।
विवाह सकिए लगतै केही दिनभित्रै सन्तोष ,उनकी नवदुलही, आमासहित परिवारका पाँच जना सदस्यलाई कोरोना संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएपछि सन्तोष वैशाख २४ गतेदेखि उपचाररत थिए । गए राति सन्तोषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिए । त्यस्तै सन्तोषकी श्रीमतीको पनि कोसी कोभिड अस्पतालमा उपचार भइरहेको उनले बताए । मानिसको भिडभाड हुने गरी घरमा भएको विवाहबाटै संक्रमण फैलिएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए । नयाँ भेरियन्टबाट गौरादहमा पाँच जनाको मृत्यु भइसकेको जनाइएको छ ।