२०८३ बैशाख १० गते , विहीबार

झापा सहकारी सङ्घले स्वास्थ्य कोष स्थापना गर्ने

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ७ गते , शुक्रबार
झापा सहकारी सङ्घले स्वास्थ्य कोष स्थापना गर्ने

भद्रपुर । दोस्रो लहरको कोरोना भाइरस संक्रमणले समग्र स्वास्थ्य क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै झापा जिल्ला सहकारी सङ्घले स्वास्थ्य तथा सामाजिक विकास कोष स्थापना गर्ने भएको छ । स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दै बसेको सङ्घको बैठकले सो निर्णय गरेको हो ।
कोरोनाका कारण उत्पन्न सङ्कटमा सहकारी संस्थाहरूले छुट्टाछुट्टै रुपमा पुर्‍याएको सहयोग र योगदानले सहकारी अभियानको भूमिकालाई व्यापक र व्यवस्थित बनाउन नसकिरहेको निष्कर्ष निकाल्दै सङ्घले चाँडै स्थापना गरिने कोषमार्फत एक द्वार प्रणालीबाट कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिने सहयोग, कोरोनाका कारण सङ्कटमा परेका सहकारी कर्मी, कोरोना संक्रमण भई अप्ठ्यारोमा परेका सहकारी कर्मी तथा तिनका परिवारलाई पुर्‍याइने राहत तथा सहयोगका क्रियाकलाप सञ्चालन गरिने निर्णय भएको सङ्घका अध्यक्ष गणेश ढकालले जानकारी दिए । यो अल्पकालीन क्रियाकलाप हुनेछ भने कोष निर्माणको दीर्घकालीन उद्देश्य पनि रहेको अध्यक्ष ढकालको भनाइ छ ।
सहकारी अभियानले कोरोनाकलामा स्वास्थ्य सचेतना, पीसीआर परीक्षण, आर्थिक सहयोग, सदस्य जागरण तथा सेवालगायतका क्षेत्रमा ठुलो आर्थिक व्ययभार वहन गरिरहेको भन्दै अध्यक्ष ढकालले अव यस्तो व्ययभारलाई एक द्वार प्रणाली अपनाई सबै सहकारी सङ्घ÷संस्था, सञ्चालक, कर्मचारी र नागरिकसमेतको अपनत्वको भावना विकास गर्न कोष स्थापनाको योजना अघि सारिएको बताए ।
नेपाल सरकार, राष्ट्रिय सहकारी महासंघ, प्रदेश सहकारी सङ्घ र स्थानीय सरकारलगायत सरोकारवाला निकायको सहयोग र समन्वयमा कोष गरिने बताइएको छ ।
उक्त कोषबाट हाललाई कोभिड १९ को जोखिम नियन्त्रणका लागि आवश्यक पर्ने सबै क्रियाकलाप सञ्चालन गरिनेछ भने भविष्यमा जिल्ला सङ्घको नेतृत्वमा एक सहकारी सामुदायिक अस्पताल निर्माण गर्ने लक्ष्य रहेको सङ्घका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।
यसैगरी, सोही कोषमार्फत सहकारी सङ्घ÷संस्थासँग सम्बन्धित सञ्चालक, कर्मचारी र सदस्यलक्षित सामाजिक क्रियाकलाप सञ्चालन गरिने बताउँदै सङ्घका सचिव भवानीप्रसाद दंगालले सङ्घले कोषमा यथाशक्य योगदान गर्न जिल्लाका सबै प्रारम्भिक सहकारी संस्था, सञ्चालक, कर्मचारी, सदस्यलगायत, सरोकारवाला सबै निकायसमक्ष आह्वान गरेको जानकारी दिए ।

सम्बन्धित समाचार