२०८३ बैशाख १० गते , विहीबार

झापाका अस्पतालहरूले भर्ना लिन नमानेपछि उपचारको अभावमा ११ बर्षीया बालिकाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ७ गते , शुक्रबार
झापाका अस्पतालहरूले भर्ना लिन नमानेपछि उपचारको अभावमा ११ बर्षीया बालिकाको मृत्यु

झापा । अस्पतालहरूले उपचार नगरिदिँदा मेचीनगर–१३ चारआली तेलीवारिकी एक बालिकाको मृत्यु भएको छ । अस्पताल चाहर्दा चाहर्दै बाल बाटिका स्कुल चारआलीमा कक्षा –४ मा अध्ययनरत ११ वर्षिया जेनिसा राजवंशीको गएराति मृत्यु भएको हो । ती बालिकालाई हिजो बिहान झाडापखाला भएको थियो । त्यसपछि उनी खाना खाएर सुतेकी थिइन् । दिउँसो ४ बजेतिर फेरि झाडा बान्ता भएपछि उनलाई अस्पताल लगिएकोमा अस्पताल चाहर्दाचाहर्दै मृत्यु भएको वडाध्यक्ष कृष्णराज सिग्देलले बताए ।

सुरुमा चारआलीस्थित मनकामना हस्पिटलमा लगिएको थियो । त्यहाँ बिरामीलाई आइसियुमा राख्नुपर्छ भन्दै चिकित्सकले अन्यत्र पठाए । बिरामीलाई लैजान उनीहरूले एम्बुलेन्ससमेत पाएनन् । अन्ततः अटोमा चढाएर बिरामी लिएर गए । बिर्तामोडको बिर्ता सिटी , कञ्चनजङ्घा र अञ्जली हस्पिटलमा ती बालिकालाई लगियो ।

तर , कसैले पनि उपचार नगरिदिएको वडाध्यक्ष सिग्देलले बताए ।‘अस्पतालमा डाक्टर छैन अन्यत्र लानु भन्दै नर्सले फर्काइदिएको बालिकाका आफन्तको भनाइलाई उद्धृत गरी वडाध्यक्ष सिग्देलले सुनाए । बिरामीको अवस्था चिन्ताजनक रहेकाले गर्दा अस्पतालहरूले भर्ना गर्न नमानेको सँगै गएका एक जनाले बताए । मृतक बालिकाका बुबा रघुनाथ राजवंशी नुवाकोटमा नेपाली सेनामा कार्यरत छन् । छोरीको निधनपछि उनी घर फर्किँदै गरेको सिग्देलले जानकारी दिए ।

सम्बन्धित समाचार