२०७८ जेष्ठ २९ गते , शनिवार

झापामा निषेधाज्ञामा पनि प्रतिबन्धित माछाको भुरा तस्करी, सशस्त्रद्वारा फेरि साढे चार लाखको भुरासहित पिकअप नियन्त्रण

झापामा निषेधाज्ञामा पनि प्रतिबन्धित माछाको भुरा तस्करी, सशस्त्रद्वारा फेरि साढे चार लाखको भुरासहित पिकअप नियन्त्रण :: Times of Pradesh

(पार्थ मण्डल) झापा । नेपालमा प्रतिबन्धित पंगास माछाको भुरा तस्करीको माध्यमबाट नेपाल भित्रिने क्रम अझै रोकिएको छैन ।  झापा र इलामका विभिन्न स्थानीय तहका माछा पोखरीमा पंगास माछाको भुराको माग बढ्दो रहेकोले सीमा नाका सिल र निषेधाज्ञामा परी तस्कर समूहले अवैध रुपमा माछाको भुरा भित्राइरहेका छन् । यसैक्रममा सशस्त्र प्रहरीले बुधवार बिहान ४ बजे दुई क्विन्टल पंगास माछाको भुरासहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरबाट खटिएका सशस्त्रको टोलीले विशेष सूचनाको आधारमा बुधवार बिहान ४ बजे मेची राजमार्गको चाराआली–केचना सडक खण्ड अन्तरगत भद्रपुर ४ स्थित झिलमिलिया पुल नजिकैबाट मे १ च ४१३४ नम्बरको रातो प्लेट भएको गाडीमा माछाको भुरा फेला परेको हो । 
कचनकवल नाकाबाट अवैध रुपमा भित्राइएको माछाको भुरा लोड गरिएको गाडी बिर्तामोडतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको विओपी भद्रपुरका इन्स्पेक्टर विभुराज दाहालले जानकारी दिए । 
बरामद गरिएको माछाको भुराको नेपाली बजार मूल्य साढे चार लाख बढी रहेको जनाइएको छ । सो माछाको भुरा बिर्तामोडका व्यापारी अलि खानले ल्याएको खुलेको छ । माछाको भुरालाई अस्थायी पशु क्वारेनटाइन चेक पोस्ट भद्रपुर, नेपाल प्रहरी, स्थानीय र पत्रकारको रोहबरमा नष्ट गरिएको छ । नियन्त्रणमा लिएका गाडीलाई आवश्यक कारबाहीका लागि ७ लाख ९० हजार मूल्याङ्कन तोकेर भद्रपुर भन्सार कार्यालय बुझाइसकेको इन्स्पेक्टर दाहालले बताए । यसअघि १५ दिनको अवधिमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वार्टर झापाबाट खटिएका सप्रसनि रमेश कुवार नेतृत्वको टोलीले दुई पटक गरी साढे चार क्विन्टल पंगास माछाको भुरासहित दुइटा गाडी नियन्त्रणमा लिइसकेको छ । सशस्त्रले वैशाख ३१ गते गौरीगञ्ज गाउँपालिका ५ बाट मे १ ज १९०८ नम्बरको छोटा हात्ती गाडीमा राखेर दमकतर्फ लैजाँदै गरेको अढाई क्विन्टल पंगास माछाको भुरासहित गाडी नियन्त्रण लिएको थियो । त्यस्तै वैशाख १७ गते गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीबाट मे १ ज ३०१६ नम्बरको पिकअप गाडीमा लोड दुई क्विन्टल पंगास माछाको भुरा नियन्त्रण लिएको थियो । नियन्त्रणमा लिएका माछाको भुरालाई नष्ट गर्दै दुवै गाडीलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार बुझाइसकेको छ । गौरीगञ्जबाट माछाको भुरा भित्राउने त्यहाँकै कारोबारी सुनिल साह रहेको खुलेको छ । कारोबारी साहकै भुरा सशस्त्रले दुई पटक नियन्त्रण लिएको हो । 

पंगास माछाको भुराको  माग बढदा तस्करी बढ्यो

विषादी परीक्षण र अनुमति बिना माछा र माछाको भुरा नेपाल भित्राउन नपाउने अस्थायी पशु क्वारेनटाइन चेक पोस्ट भद्रपुरका प्रमुख डा। मुकेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार नेपालमा पंगास र मागुर माछाको भुरामाथि सरकारले नै प्रतिबन्ध लगाएको छ । 
‘यी दुवै माछाको भुरालाई कानुनी प्रक्रिया पूरा गरी पनि नेपाल भित्राउन पाइँदैन,’ उनले भने, ‘त्यसैले कारोबारीले अवैध बाटो प्रयोग गरी भुरा भित्राउन खोज्छन् ।’ ‘छिटो उत्पादन हुने र एउटा मात्र ठूलो काँडा हुने पंगास माछाको झापा र इलामका माछा पोखरीमा यसको माग बढ्दो छ, यो पश्चिम बङ्गालमा उत्पादन हुन्छ,’ उनले भने । अहिले यी दुवै जिल्लाका माछा पोखरीहरूमा पंगास माछा नै बढी मात्रामा उत्पादन भइरहेको उनको भनाई छ । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment