२०८२ बैशाख ८ गते , सोमबार

लक्षण नदेखिएकालाई पनि कोरोना संक्रमण, स्वाब लिने ठाउँमै कोरोना सर्ने खतरा

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ३० गते , विहीबार
लक्षण नदेखिएकालाई पनि कोरोना संक्रमण, स्वाब लिने ठाउँमै कोरोना सर्ने खतरा

(पार्थ मण्डल) झापा । नयाँ भेरियन्टसहित कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकालाई पनि संक्रमण पुष्टि हुन थालेको छ। संक्रमित साथीभाइ वा आफन्तसँग घुलमिल गरेका वा अन्य काम प्रयोजनका लागि जानुपर्नेले पिसिआर र ऐन्टिजेन परीक्षण गराउँदा झापामा धमाधम संक्रमण पुष्टि हुन थालेको पाइएको हो। 

लक्षण नदेखिएका मानिसमा पनि कोरोना संक्रमण पुष्टि हुन थालेपछि जिल्लामा सङ्ख्या ह्वातै बढेको छ। सङ्ख्या बढेसँगै जिल्लावासी त्रसित बनेका छन्। मेची अञ्चल अस्पताल भद्रपुर र कोटिहोम पिसिआर प्रयोगशाला कनकाईमा संक्रमण जाँचका लागि गएका अधिकांशमा संक्रमण देखिन थालिएको स्वयं लक्षण नदेखिएका संक्रमित बताउँछन्।  

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका अनुसन्धान उप अनुसन्धान निर्देशक  तिलक शर्मा प्रसाईंलाई मंगलबार कोरोना पुष्टि भएको छ। जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) का सदस्यसमेत रहेका प्रसाईंमा नयाँ भेरियन्टको कोरोना संक्रमणको कुनै लक्षण देखिएको छैन।

घर बिदा जानुअघि मेची अस्पतालमा गएर उनले पिसिआर परीक्षण गराएका थिए। रिपोर्ट पोजेटिभ आएपछि उनी आफैं छक्क परेका छन्। ‘घर जान पिसिआर परीक्षण गराउन खोजेका थियौँ, तर रिपोर्ट पोजेटिभ आएपछि अहिले कार्यालयको होम आइसोलेसनमा बसेको छु,’ उनले भने, ‘मलाई संक्रमणको कुनै लक्षण देखिएको छैन, तर सतर्कता अपनाउन एकान्तमा बसेको छु, मैले कोभिडको दुई वटा खोप पनि लगाएका छु, तर पनि संक्रमण देखियो,ु उनले भने।

खोप लगाएको व्यक्तिमा पनि संक्रमण देखिएकोले यसबाट जोगिन सबैले स्वास्थ्य मापदण्डको पालना आवश्यक देखिएको उनले बताए। त्यस्तै संक्रमण पुष्टि भएका लक्ष्मण कट्टेललाई पनि कुनै लक्षण देखिएको छैन। गुप्तचर डटकमुका सञ्चालकसमेत रहेका कट्टेलको अफिसमा कार्यरत पत्रकारलाई संक्रमणको लक्षण देखिएपछि उनीसहित तीन जना मेची अस्पताल गएर पिसिआर परीक्षण गराएका थिए।

तीनै जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए। ‘कट्टेललाई मात्र लक्षण देखिएको थियो, म र अर्को साथीलाई कुनै लक्षण देखिएको थिएन र छैन पनि, तर पनि रिपोर्ट पोजेटिभ आयो,' उनले भने। त्यस्तै बाह्रदशी जेसिसका अध्यक्ष विगम श्रेष्ठलाई पनि संक्रमणको कुनै लक्षण देखिएको छैन। तर पनि उनको रिपोर्ट पोजेटिभ आएको छ। पत्रकार महासंघ झापाका सदस्य समेत रहेका श्रेष्ठ मंगलबार मेची अस्पतालमा पिसिआर परीक्षणका लागि गएका थिए। 

‘बुधबार रिपोर्ट पोजेटिभ आयो,’ उनले भने, ‘काम विशेषले दुई दिन बाहिर बसेकाले मैले संक्रमण जाँच गराएको हो, अहिले घरमै छु, संक्रमणको कुनै लक्षण देखिएको छैन।’ 

लक्षण नदेखिएका बिरामीबारे यसो भन्छन् चिकित्सक 

पछिल्लो पटक लक्षण नदेखिएका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि हुन थालेपछि सबैका लागि यो चासोको विषय बनेको छ। ‘लक्षण नदेखिएका व्यक्तिको पिसिआर रिपोर्ट पोजेटिभ आउन सक्छ, यसलाई अन्यथा मान्नु हुँदैन,’ मेची अञ्चल अस्पतालमा मेसु डा पीताम्बर ठाकुरले भने, ‘रिपोर्ट पोजेटिभ आएका व्यक्तिमा पहिला कोरोनासम्बन्धी कुनै न कुनै लक्षण देखिएको हुन सक्छ, तर उसले त्यो कुरालाई याद गरेको हुँदैन।’

'पछि जब ती व्यक्ति स्वास्थ्य अवस्थामै काम विशेष वा संक्रमित व्यक्तिसँग संगतपछि पिसिआर जाँच गराउन आउँछ, अनि ती व्यक्तिको शरीरभित्र रहेको सिटी अथवा ’साइकल थ्रेसहोल्ड’ को भ्यालु (अङ्क) देखिन्छ, अनि रिपोर्ट पोजेटिभ आउँछ,’ डा ठाकुरले भने।

डब्लुएचओका अनुसार ३५ भन्दा मुनि सिटी भ्यालु देखिएकाको रिपोर्ट पोजेटिभ दिने मान्यता छ। लक्षण नै नदेखिएकाको पिसिआर रिपोर्ट पोजेटिभ आयो, प्रयोगशालाको मेसिन बिग्रियो वा लापरबाही भयोजस्तो भ्रममा नपर्ने सबैलाई डा ठाकुरले आग्रहसमेत गरेका छन्।

मेचीमा परीक्षण गराउन आउने व्यक्तिको पिसिआर रिपोर्टमा सिटी भ्यालु ३५ देखि ७ सम्मको आइरहेको छ। सिटी भ्यालुको अंक जति बढी भयो त्यति नै भाइरसको भार कम, लक्षण र सङ्क्रामक कम हुने अनुमान गरिन्छ। अंक जति कम भयो त्यति नै भाइरसले शरीरमा असर गर्छ।  

स्वाब लिने ठाउँबाटै संक्रमण सर्ने खतरा बढ्यो

मेची अञ्चल अस्पताल भद्रपुरमा पिसिआर परीक्षण लागि मात्रै दिनमा सयभन्दा बढी मान्छेको भेला हुने गरेको छ। एउटै लाइनमा बसेर पिसिआरको स्वाब दिँदा त्यहीँ संक्रमण फैलिने खतरा देखिन थालेको छ। 

पिसिआरको स्वाब दिन अस्पताल पुगेका मान्छेले नै सामाजिक दूरीको पालना नगर्दा त्यहाँबाटै संक्रमण फैलिन खतरा बढेको बाह्रदशी जेसीजका अध्यक्ष विगम श्रेष्ठको भनाइ छ।

‘स्वाब दिन पुगेकाहरू एक अर्कोसँग टाँसिएर लाइनमा बसेका थिए,’ उनले भने, ुमैले नै कति पटक उनीहरूलाई सामाजिक दूरीको पालना गरी लाइनमा बस्नुहोस् भनेर सम्झाउनु पर्‍यो।’

त्यहाँ संक्रमित भएका वा नभएका दुवै व्यक्ति एउटै लाइनमा बसेर स्वाब दिइरहेका उनले बताए। ुसंक्रमित व्यक्तिबाट अन्यलाई स्वाब दिनुअघि नै कोरोना सर्ने अवस्था देखियो,ु उनले भने। 

यता मेची अञ्चल अस्पतालका मेसु पीताम्बर ठाकुरका अनुसार स्वाब दिन आएकालाई सामाजिक दूरी पालना गरी बस्नु चिकित्सकहरूले पटक पटक आग्रह गरिरहेका थिए।

चिकित्सक तथा अस्पतालका कर्मचारीको कुरा नसुन्दा पनि अस्पताल प्रशासनलाई समस्या भइरहेको उनले बताए। भने, ‘पिसिआर परीक्षण गराउने आउनेका सङ्ख्या दिनहुँ बढिरहेकाले पनि यसलाई व्यवस्थित गर्न सकेका छैनौँ, त्यही पनि हामी स्वाब लिने ठाउँमा डोरीको वार र गोलो घेरा बनाएका छौँ, यसको पालना स्वयं व्यक्तिले गर्नुपर्ने हुन्छ।’

मेचीमा पछिल्लो एक साताको पिसिआर रिपोर्टको तथ्यांक हेर्दा स्वाब लिएकामध्ये ७० देखि ८० प्रतिशतसम्मको रिपोर्ट पोजेटिभ आउन थालेको अस्पताल प्रशासनले जनाएको छ।  

सम्बन्धित समाचार