सङ्क्रमितको ज्यानसँग खेलबाड नगर्न काँग्रेसको आग्रह

भद्रपुर । कोरोना संक्रमित व्यक्तिको जीवनसँग खेलबाड नगर्न नेपाली काँग्रेसले भद्रपुर नगरपालिका कार्यालयलाई गम्भीर ध्यानाकर्षण गराएको छ । काँग्रेस झापा क्षेत्र नम्बर ३ तथा भद्रपुर नगर समितिले भद्रपुर कोरोना संक्रमणको केन्द्र बन्दै गएकोमा नगरपालिका प्रशासन पक्षले न्यूनतम आवश्यकता समेत ख्याल नगर्दा रोगी उपचार नपाई अकालमै मर्नुपर्ने बाध्यता आइ सकेकोले जिम्मेवार बन्न आग्रह समेत गरेको छ । पछिल्लो पटक कोरोनाका कारण ज्यान गुमाएका भद्रपुरका युवाले अक्सिजनविहीन एम्बुलेन्समै अस्पताल डुलाउँदा डुलाउँदै ज्यान गुमाउनु परेको घटना बाहिर आएकोले त्यस्तो लापरबाही तत्काल सच्याउन काँग्रेसले नगरपालिकासमक्ष माग राखेको छ ।
क्षेत्रीय सभापति गणेश पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ—“भद्रपुर नगरपालिका वडा नम्बर ४ निवासी कोरोना संक्रमित अनुप राजवंशीको भद्रपुर नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्समा राखी उपचारका लागि अस्पताल लैजाने क्रममा एम्बुलेन्समा अक्सिजनको व्यवस्था नभएका कारण मृत्यु भएको भन्ने सामाजिक सञ्जाल समेत मार्फत मृतकका परिवारले बताएको तथ्यप्रति पार्टी नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।
सामान्य व्यवस्थापकीय जिम्मेवारी भित्र पर्ने यस किसिमका विषयलाई नजरअन्दाज गर्दा त्यसले निम्त्याउने अपूरणीय क्षतिप्रति उच्च संवेदनशील हुँदै नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्समा अविलम्ब अक्सिजन राख्ने व्यवस्था मिलाउन नगरपालिकाको ध्यानाकर्षण गर्दछौँ । साथै सङ्कटको यस घडीमा जनस्वास्थ्य सम्बन्धी मुख्य प्राथमिक कर्तव्यबाट विचलित भद्रपुर नगरपालिका र यसको नेतृत्वलाई आफ्नो सोच तथा कार्यशैलीमा तत्कालै सुधार गर्दै कोरोना संक्रमणको रोकथाम, उपचार तथा नियन्त्रणमा आफ्नो सम्पूर्ण शक्तिलाई परिचालन गरी जबाफदेही ढङ्गले आफ्नो जिम्मेवारी पूरा गर्न सचेत खबरदारी गर्दछौँ । अन्त्यमा, साथी अनुप राजवंशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ” भनिएको छ ।