२०८१ फाल्गुन ४ गते , आईतबार

प्रदेश १ का सबै अस्पतालमा कोभिड संक्रमितको उपचार गराउन निर्देशन

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २९ गते , बुधबार
प्रदेश १ का सबै अस्पतालमा कोभिड संक्रमितको उपचार गराउन निर्देशन

विराटनगर । प्रदेश १ प्रदेशसभाको सामाजिक विकास समितिले प्रदेशका सबै अस्पतालमा कोभिड संक्रमितको उपचार सुरु गर्न निर्देशन दिएको छ।
बुधबार बसेको सामाजिक विकास समितिले सामाजिक विकास मन्त्री उषाकला राई र सचिव गोविन्दबहादुर कार्कीलाई तत्काल सबै अस्पतालमा कोभिड संक्रमितको उपचार सुरु गर्न निर्देशन दिएको हो।

अस्पतालहरूको निरीक्षणपछि सरकारलाई निर्देशन दिइएको सामाजिक विकास समिति सभापति सरिता थापाले बताइन्। समितिले सुनसरी, पाँचथर, धनकुटा, सङ्खुवासभा र उदयपुरका जिल्ला अस्पतालमा उपचार सेवा सुरु गर्ने पूर्वाधार रहेकाले तत्काल सेवा सुचारु गर्न पनि निर्देशन दिएको छ। 

समितिले स्थानीय तहसँगको सहकार्यमा थप आइसोलेसन र होल्डिङ सेन्टर बनाउन पनि निर्देशन दिइएको समिति सभापति थापाले जानकारी दिइन्। 

समितिले अक्सिजन आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउँदै, चौबिसै घण्टा सहज विद्युत आपूर्तिको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। समितिले विराट मेडिकल कलेज र झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालले अनुचित धरौटी लिएको देखिएकाले शुल्क नलिने गरी एकरूपता कायम गर्न पनि निर्देशन दिएको छ।

प्रदेश सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रको बन्द रहेको ८० बेड तत्काल सञ्चालन गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तत्काल बेड थप गर्ने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ। बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयन गर्ने मन्त्री उषाकला राईले प्रतिबद्धता व्यक्त गरिन्। थाहाखबरबाट

सम्बन्धित समाचार