भद्रपुरमा सोमबार थपिए ६१ जना कोरोना संक्रमित, निषेधाज्ञाको पालना नगर्दा बढ्यो जोखिम
भद्रपुर । पछिल्लो २४ घण्टामा भद्रपुरमा ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै पटक यति धेरै संक्रमित भेटिएसँगै भद्रपुरमा कोरोनाको संक्रमणको जोखिम बढेको छ ।
नगरपालिका स्वास्थ्य शाखाका अनुसार भद्रपुर वडा नम्बर १ का तीन महिला र चार पुरुष, वडा २ का एक महिला र एक पुरुष, वडा ३ का दुई पुरुष, वडा ४ का एक पुरुष, वडा ५ का तीन महिला, वडा ६ का एक पुरुष, वडा ७ का सात महिला र सात पुरुष, वडा ८ का दश महिला र तीन पुरुष, वडा ९ का छ महिला र दुई पुरुष र वडा १० का पाँच महिला र चार पुरुष रहेका छन् ।
त्यसमध्ये दुई महिला र तीन पुरुषको वडा नखुलेको स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । भद्रपुरमा हालसम्म सक्रिय संक्रमित २८४ मध्ये ८ जना निको भएर घर फर्किसकेका छन् । दोस्रो लहरमा दुई जनाको मृत्यु भइसकेको जनाइएको छ । नगरबासीले निषेधाज्ञाको पालना नगर्दा संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।