लाइफलाइन अस्पतालमा ३० बेडको कोभिड वार्ड सञ्चालन
दमक । झापा दमकस्थित सबैभन्दा पुरानो निजी अस्पताल लाइफलाइन अस्पतालले आइसियु तथा भेन्टिलेटर सहितको ३० बेड क्षमताको कोभिड वार्ड सञ्चालन सुरु गरेको । आइतबार अनौपचारिक कार्यक्रमबिच दमक नगरका नगर प्रमुख रोमनाथ ओलीले कोभिड वार्डको उद्घाटन गरेका छन् । उनले प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरेर आवश्यक सहयोग जुटाउन प्रयत्न गरिने पनि बताए ।
कोभिड वार्डका लागि अस्पतालले हाल इमरजेन्सी सहित एचडियु सेवा प्रदान गर्ने गरेको अस्पतालको ४ तले ब्लक कोभिड वार्डको रुपमा सञ्चालनमा ल्याएको हो । अस्पतालका मेडिकल डाइरेक्टर डा. सुर्यनारायण शाहका अनुसार विशेषज्ञ सेवा सहित कोभिडका बिरामीहरूले यहाँ सहज रुपमा सेवा पाउनेछन् ।
विपतको यो समयमा अस्पतालको तर्फबाट पनि कोभिडका बिरामीलाई उपचार गराउनका लागि अस्पतालका सञ्चालकहरू तथा स्वास्थ्यकर्मीहरुले देखाएको तदारुकताले यो सम्भव भएको पनि डा. शाहले जनाएका छन् ।
अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईका अनुसार बेड क्षमता अनुसार कसैलाई विभेद नगरी अस्पतालमा कोभिडका बिरामीहरूलाई भर्ना लिइनेछ । यो विषम अवस्थामा यस क्षेत्रका कोभिडका बिरामीहरूलाई सेवा दिएर ज्यान बचाउन सकिए हुन्थ्यो भन्ने लागेर हामीले उपचार केन्द्रको रुपमा नै कोभिड वार्ड सुरु गरेका हौ, भट्टराईले भने ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ