नन्दीग्राममा जित्दा जित्दै हारिन् 'दिदी', हारेपनि पश्चिम बंगालमा टिएमसीको बहुमत सरकार

झापा । तृणमुल कंग्रेस (टिएमसी) की नेतृ ममता बनर्जी (दिदी)ले नन्दीग्रामबाट चुनाव जितिन् भनेर भारतीय सञ्चारमाध्यमबाट समाचार बाहिरिएसँगै बंगालका मुख्यमन्त्री बनर्जीलाई देशका प्रधानमन्त्री नरेन्द्र मोदीसहित देशभरबाट बधाई तथा शुभकामनाको ओइरो नै आउन थाल्यो।
भारतीय मिडियाले पनि बनर्जीलाई विजेता घोषणा गर्दै समाचार प्रकाशन नै गरे। तर, उनी विजेता भएको आधिकारिक घोषणा निर्वाचन आयोगले गरेको थिएन। निर्वाचन आयोगले जब नन्दीग्रामको नजिता घोषणा गरे, सबै चकित परे। भारतीय मिडियाहरूले समेत आफूले सम्प्रेषण गरेको गलत समाचारलाई सच्याउन लागि परे। निर्वाचन आयोगले नन्दीग्राम सिटबाट शुभेन्दु अधिकारी विजयी भएको आधिकारिक घोषणा गरे। अधिकारीले मुख्यमन्त्री बनर्जीलाई १७ सय ३६ मत अन्तरले पराजित गरेका छन्।
अधिकारीले १ लाख ९ हजार ६ सय ७३ मत ल्याएका छन्, भने बनर्जीले १ लाख ७ हजार ९ सय ३६ मत ल्याएका हुन्। अधिकारी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार हुन्।
अधिकारीको नन्दीग्राम आफ्नै निर्वाचन क्षेत्र पर्छ। बनर्जी पाहुना भएर कोलकताको भवानीपुर छाडेर नन्दीग्राममा चुनाव लड्न आएकी थिइन्। यसअघि आधिकारिक मत परिणाम घोषणा हुन बनर्जीले १२ सय मत अन्तरले अधिकारीलाई पराजित गरेको समाचार नै बाहिरियो। सुरुमा बनर्जीले जितिन् र पछि अधिकारीले जिते भनेर समाचार आएपछि यसले अन्यौलता पैदा गर्यो।
यता अधिकारीलाई निर्वाचन आयोगले विजेता घोषणा गरेसँगै उनले ट्विट गर्दै नन्दीग्रामको सम्पूर्ण जनताले धन्यवाद दिएका छन्। यता तृणमुल नेतृ बनर्जीले हार नस्विकार्ने भन्दै अदालतमा चेतावनी दिएकी छन्। निर्वाचन आयोगले धाँधली गरेको भन्दै तृणमुल कंग्रेसले पुनः मतगणनाको माग गरेको छ।
अहिले मतगणना स्थल तृणमुल कंग्रेसका कार्यकर्ताहरू विरोधमा प्रदर्शन गरिरहेका छन्। बंगालमा नरेन्द्र मोदीको भाजपालाई पाखा लगाउँदै बनर्जीको तृणमुल कंग्रेस बहुमतको साथ अगाडि छ। अहिलेसम्मको मत परिणाम हेर्दा तृणमुल कंग्रेसले २ सय बढी सिटमा जित हासिल गरिसकेको छ त्यसमध्ये १ सय ११ सिट जितिसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।