झापा निषेधाज्ञा : तीन पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनमा पनि जोर-बिजोर प्रणाली लागु
झापा । प्रशासन कार्यालय झापाले निषेधाज्ञा अवधिभर जिल्लामा चल्ने ४ पाङ्ग्रे, ३ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधनमाथि जोर बिजोर प्रणाली लागु गरेको छ । सार्वजनिक एव निजी सवारी साधन, सिटी रिक्सा समेतले (वैशाख १९ गते आइतबार मध्यराती १२ बजेदेखि वैशाख २६ गते आइतबार मध्यराती १२ बजेसम्म) निषेधाज्ञा भरी जोर गते जोर नम्बरको तथा बिजोर गते बिजोर नम्बरको सबै प्रकारको सवारीसाधन सञ्चालन गर्ने पाउने निर्णय गरेको छ ।
त्यस्तै अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारीसाधन, बैङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, रेडक्रस, क्वारेनटाइन, आइसोलेसन, फोहोर मैला व्यवस्थापन, कुरियर तथा डाक सेवा लगायतका ढुवानी तथा यातायातका साधन सञ्चालन गर्न पाउने निर्णय प्रशासनले गरेको छ ।
त्यस्तै विवाह व्रतबन्ध जस्ता कार्यक्रममा अन्यत्र जिल्लामा जानु फर्कनु पर्ने भएमा २ वटा सवारी साधनमा बढीमा सात जना सम्मको लागि स्थानीय तहको सिफारिससहित प्रशासन कार्यालयबाट अनुमित लिनुपर्ने र काठमाडौँ उपत्यकामा सो नियम लागु नहुने प्रशासन कार्यालयले जनाएको छ । सरकारी कर्मचारी, बैङ्क तथा वित्तीय संस्थाका र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा सवारीसाधनमा आवतजावत गर्न पाउने निर्णय समेत गरेको छ ।