निषेधाज्ञा उल्लंघनलाई जेल सजाय
बुटवल । रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई एक महिना जेल सजाय गरिएको छ। जिल्ला प्रहरी कार्यालयले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको थियो। तीमध्ये ५ जना जरिवाना बुझाएर छुटेका छन्।
बाँकी ३ जनाले जरिवाना बुझाउन नसक्दा एक महिना कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।कोरोना संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरेको छ।
सोही क्रममा निषेधाज्ञा उल्लंघन गर्ने ७ पुरुष र एक महिलालाई सम्झाइबुझाइ गर्दा प्रहरी अधिकृतलाई समेत काममा बाधा पुर्याएको भन्दै उनीहरुलाई कैद सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पठाइएको हो ।
उनीहरुलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । उनीहरूलाई एक महिना कैद वा जनही ९ हजार एक सय जरिवाना तोकिएको थियो।